बेलौरीमा मध्यरातसम्म चर्को डिजे बजाउन रोक्न प्रहरीद्वारा निगरानी हुने

बेलौरी कञ्चनपुर।

कञ्चनपुरको बेलौरी क्षेत्रमा विवाह तथा विभिन्न उत्सवका नाममा प्रयोग गरिने चर्को आवाजको डिजे (ध्वनि यन्त्र) नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाउने भएको छ । पछिल्लो समय विद्यार्थीहरूको वार्षिक परीक्षा सञ्चालन भइरहेको संवेदनशील अवस्थामा राति अबेरसम्म चर्को आवाजमा संगीत बजाउँदा पठनपाठनमा गम्भीर असर परेको जनगुनासो बढेपछि इलाका प्रहरी कार्यालय बेलौरीले यस्तो कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

स्थानीयहरूका अनुसार उत्सव र मनोरञ्जनका नाममा मध्यरातसम्म डिजे बजाउने कार्यले समाजमा अशान्ति फैलाउनुका साथै बालबालिकाको भविष्यमा समेत नकारात्मक प्रभाव पारेको छ । प्रहरीले यस विषयमा निगरानी बढाइरहेको र कतिपय स्थानमा राति अबेरसम्म पनि ठूलो आवाजमा डिजे बजिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने योजना बनाएको छ । सार्वजनिक शान्ति खलल पुग्ने गरी हुने यस्ता गतिविधि रोक्न प्रहरीले स्थानीय स्तरबाट प्राप्त हुने सूचना र उजुरीलाई आधार बनाएर कारबाही अगाडि बढाउने तयारी गरेको छ । मनोरञ्जन व्यक्तिगत अधिकार भए पनि त्यसले अरूको शान्तिपूर्वक बस्न पाउने र पढ्न पाउने अधिकारलाई हनन गर्न नहुने प्रहरीको तर्क छ ।

प्रहरीले कानुनी कार्यान्वयनमा तदारुकता देखाए पनि ध्वनि प्रदूषण नियन्त्रण र नियमनमा स्थानीय सरकारको रूपमा रहेको बेलौरी नगरपालिकाको भूमिका भने सुस्त देखिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्यको रक्षा गर्ने स्पष्ट अधिकार नगरपालिकालाई दिएको भए तापनि हालसम्म डिजे सञ्चालन सम्बन्धी ठोस मापदण्ड वा कार्यविधि निर्माण हुन सकेको छैन । नगरपालिकाले बजार तथा ग्रामीण क्षेत्रमा ध्वनिको सीमा तोक्ने र त्यसको प्रभावकारी अनुगमन गर्ने संयन्त्र विकास नगर्दा प्रहरीलाई समेत कानुनी कारबाहीमा कठिनाइ हुने गरेको स्थानीयको बुझाइ छ । नागरिकको शान्तिपूर्वक बस्न पाउने अधिकार सुनिश्चित गर्न नगरपालिकाले पनि आफ्नो क्षेत्राधिकार भित्र रहेर सक्रियता देखाउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ