बेलौरी, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा ६ ग्रामभन्दा बढी लागूऔषध खैरो हिरोइनसहित दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईबाट बिहीबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी पचुईबाट खटिएको संयुक्त गस्ती टोलीले शंकास्पद अवस्थामा गुडिरहेको से ७ प २९२५ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको थियो । मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका वडा नम्बर ७ बस्ने महादेव राना र सोही ठाउँका सुकविन्द्र रानाको साथबाट ६ ग्राम ३२० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार बेलौरीको पचुई क्षेत्रमा नियमित सुरक्षा जाँचका क्रममा उनीहरूलाई रोकी खानतलासी गर्दा लुकाईछिपाई राखिएको अवस्थामा खैरो धुलो पदार्थ फेला परेको थियो । बरामद पदार्थको तौल गर्दा ६ ग्राम ३२० मिलिग्राम शुद्ध तौल देखिएको प्रहरीले पुष्टि गरेको छ ।
पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर हाल थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागूऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ । पक्राउ परेकाहरूलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।





