बेलौरी, कञ्चनपुर।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ फटियास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी बल नेपालले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको प्रतिबन्धित माछा, कुखुरा र एक थान मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. आँपतालबाट खटिएको गस्ती टोलीले बुधबार ती सामग्रीहरू नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी सहायक निरीक्षक राम बहादुर तामाङको कमाण्डमा खटिएको ५ जनाको सीमा पैदल गस्ती टोलीले शङ्कास्पद अवस्थामा रहेको से ३ प ८५२० नम्बरको नेपाली मोटरसाइकल फेला पारेको थियो । उक्त मोटरसाइकलमा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको ५० केजी प्रतिबन्धित माछा र २० केजी ब्रोइलर कुखुरा फेला परेको सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहराले जानकारी दिनुभयो ।

बरामद गरिएको माछाको बजार मूल्य करिब १५ हजार रुपैयाँ र ब्रोइलर कुखुराको मूल्य करिब ६ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित बरामद गरिएका सामग्रीको कूल मूल्याङ्कन १ लाख २१ हजार रुपैयाँ गरिएको छ । बेवारिसे अवस्थामा भेटिएका ती सामग्रीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी बि.ओ.पि. परिसरमा नष्ट गरिएको छ ।
सशस्त्र प्रहरीले बरामद गरेको उक्त मोटरसाइकललाई भने थप कानुनी कारबाहीका लागि कैलाली भन्सार कार्यालय, धनगढी पठाइएको छ ।





