बेलौरी, कञ्चनपुर।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गुडिरहेको मोटरसाइकललाई बाघले अचानक आक्रमण गर्दा एकै परिवारका चार जना घाइते भएका छन्। जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित क्याम्प चेकपोष्ट नजिक दैजी-बेलडाँडी सडकखण्डमा सोमबार राति सवा आठ बजेतिर उक्त दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दैजीबाट बेलडाँडीतर्फ गइरहेको सु.प.प्र. ०१-००९ प ७६३० नम्बरको मोटरसाइकललाई बाघले अचानक झम्टेपछि सवारी अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ रतनपुर बस्ने चालक विरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, साढे दुई वर्षीय छोरा रियान्स ठगुन्ना र भीमदत्त नगरपालिका वडा नम्बर १५ खैरिबस्ती बस्ने १४ वर्षीया भान्जी आरुसी साहु घाइते भएका छन्।
घाइतेहरूमध्ये १४ वर्षीया आरुसी साहुको अवस्था गम्भीर र अचेत रहेको प्रहरीले जनाएको छ। उनको टाउको, अनुहार र हातमा गम्भीर चोट लागेको छ। मोटरसाइकल चालक विरेन्द्र ठगुन्नाको दाहिने खुट्टा, दुवै हात र शरीरका विभिन्न भागमा चोट लागे पनि अवस्था सामान्य छ। उनकी श्रीमती कल्पनाको टाउको, अनुहार र दुवै खुट्टामा तथा छोरा रियान्सको टाउको र अनुहारमा चोट लागेको छ भने उनीहरूको अवस्था मध्यम रहेको छ।
दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप र जटिल उपचारका लागि उनीहरूलाई कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा प्रेषित गरिएको र हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस सडकखण्डमा विगतमा पनि वन्यजन्तुको चहलपहल र आक्रमणका घटना हुने गरेकाले रात्रिकालीन समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन निकुञ्ज प्रशासन र सुरक्षा निकायले आग्रह गरेका छन्। यस घटनाले स्थानीय बासिन्दा तथा यात्रुहरूमा सुरक्षाको चिन्ता थप बढाएको छ।





