भारतबाट अवैध रूपमा भित्र्याइएको बोइलर कुखुरा र पेय पदार्थ आँपताल बीओपीद्वारा बरामदपछि नष्ट

कञ्चनपुर, ३१ जेठ ।

कञ्चनपुरको सीमावर्ती क्षेत्र पुनर्वास नगरपालिकाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएको प्रतिबन्धित बोइलर कुखुरा र पेय पदार्थ बरामद गरी नष्ट गरेको छ । नेपाल भारत सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको गस्ती टोलीले आइतबार साँझ साढे पाँच बजेको समयमा ती गैरकानूनी सामग्रीहरू नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बीओपी) आँपतालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रामबहादुर तामाङको कमाण्डमा खटिएको पाँच सदस्यीय पैदल गस्ती टोलीले पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित ‘घ’ गाउँ सीमा इलाकामा निगरानी गर्ने क्रममा यी सामग्रीहरू फेला पारेको हो । तस्करहरूले सीमापारिबाट लुकिछिपी ल्याई बेवारिसे अवस्थामा छाडेको अनुमानित बजार मूल्य ३३ हजार रुपैयाँ बराबरको ११० केजी प्रतिबन्धित जिउँदो ब्रोइलर कुखुरा र १० हजार ८०० रुपैयाँ बराबरको १०८ लिटर ड्यु नामक पेय पदार्थ सुरक्षा टोलीले बरामद गरेको थियो ।

बरामद गरिएका सामग्रीहरूलाई सुरक्षा निकायले स्थानीय जनप्रतिनिधि, उद्योगी र सरोकारवालाहरूको रोहवरमा आवश्यक कानुनी प्रक्रिया र मुचुल्का तयार गरी बरामद भएको केही समयभित्रै आँपतालमै खाडल खनेर नष्ट गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ