कञ्चनपुर, २ असार ।
कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा भीमदत्त नगरपालिकामा सञ्चालित जिल्ला विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिप २०२६ (२०८३) को उपाधि बेलौरीस्थित वात्सल्य विद्या निकेतनले हात पारेको छ । भीमदत्त नगरपालिकाको तिलकेनीस्थित श्री होली फ्यामिली इङ्लिस मिडियम स्कुलको खेल मैदानमा सोमबार सम्पन्न फाइनल भिडन्तमा वात्सल्य विद्या निकेतनले आयोजक तथा प्रतिस्पर्धी होली फ्यामिलीलाई ३५ रनले पराजित गर्दै अपराजित यात्रासहित प्रतियोगिताको च्याम्पियन बनेको हो । जेठ २५ गतेदेखि सुरु भएको यस गरिमामय प्रतियोगितामा जिल्लाभरिका उत्कृष्ट १६ विद्यालयका टोलीहरूले सहभागिता जनाएका थिए ।

सोमबार सम्पन्न उपाधि भिडन्तमा वात्सल्य विद्या निकेतनका ब्याटर मानव विष्टले ६१ रनको सानदार अर्धशतकीय पारी खेलेका थिए । ४ चौका र १ छक्काको मद्दतले टोलीलाई बलियो स्थितिमा पुर्याएका विष्ट फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए । त्यस्तै टोलीका कप्तान हिमाल पन्तले २३ रनको योगदान दिनुका साथै बलिङतर्फ महत्वपूर्ण २ विकेट लिएका थिए । बलिङ लाइनअपलाई आक्रामक रूपमा अगाडि बढाउने क्रममा धीरेन्द्र राज विष्टले ३ विकेट, अञ्जित धामीले २ विकेट र आयुष भट्टले २ विकेट लिँदै विपक्षी टोलीलाई लक्ष्यभन्दा निकै पछाडि रोक्न सफल भएका थिए ।

प्रतियोगिताभरि सर्वोत्कृष्ट प्रदर्शन गरेका वात्सल्यका कप्तान हिमाल पन्त ‘प्लेयर अफ दि सिरिज’ घोषित हुन सफल भए । पन्त प्रतियोगिताकै उत्कृष्ट ब्याटर र उत्कृष्ट बलर समेत चुनिएका छन् । उनले प्रतियोगिताभर कुल १७९ रन बनाएका थिए, जसमा एक ऐतिहासिक अविजित शतक (१००*) समेत सामेल छ । बलिङतर्फ उनले मात्र १.८१ को उत्कृष्ट इकोनोमी दरमा कुल १४ विकेट लिएर आफ्नो असाधारण खेल कौशल प्रदर्शन गरे । कप्तान पन्त गत वर्ष २०८२ सालमा महेन्द्रनगरमै आयोजित १६ वर्षमुनिको (यु-१६) स्कुल लिगमा पनि ‘प्लेयर अफ दि सिरिज’ बनेका थिए, जसले उनको निरन्तरको उत्कृष्ट लयलाई प्रमाणित गर्दछ ।
यसैगरी वात्सल्यकै अन्य खेलाडीहरूले पनि प्रतियोगितामा उत्कृष्ट तथ्याङ्क दर्ता गराएका छन् । टोलीका मुख्य बलर धीरेन्द्र राज विष्ट ११ विकेटका साथ प्रतियोगिताकै दोस्रो धेरै विकेट लिने खेलाडी बने भने मानव विष्ट कुल १४७ रन र २ अर्धशतक सहित दोस्रो धेरै रन बनाउने ब्याटर बनेका छन् । टोलीलाई च्याम्पियन बनाउन अञ्जित धामीले ६ विकेट, अनुप जोशीले ५ विकेट र आयुष भट्टले ५ विकेट लिनुका साथै ब्याटिङमा समेत महत्त्वपूर्ण प्रदर्शन गरी अलराउण्डर भूमिका निर्वाह गरे ।
कञ्चनपुर जिल्लामा विद्यालय तहदेखि नै क्रिकेट खेलको विकास र नयाँ प्रतिभा पहिचानका लागि यो प्रतियोगिता कोशेढुङ्गा साबित भएको खेल विश्लेषकहरूको बुझाइ छ ।





