बेलौरी, कञ्चनपुर, ४ असार ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा क्रियाशील मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेलौरी शाखाले आफ्नो स्थापनाको १३औँ वर्षमा प्रवेश गरेको अवसर पारेर उत्तरदायी बैंकिङ र सामाजिक योगदानको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ । वार्षिकोत्सवका अवसरमा शाखाले सडक दुर्घटना न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय बेलौरी अन्तर्गतको ट्राफिक प्रहरीलाई आवश्यक सुरक्षा सामग्री हस्तान्तरण गर्नुका साथै आफ्ना शेयर सदस्यहरूको हितका लागि स्वास्थ्य उपचारमा विशेष छुट दिने द्विपक्षीय सम्झौता गरेको हो । वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेगा बचत तथा ऋण सहकारी संस्थाका बेलौरी शाखा प्रबन्धक केशव अवस्थीले प्रतिकूल मौसम र समयको प्रवाह नगरी २४सै घण्टा सडकमा खटिने ट्राफिक प्रहरीको मनोबल उच्च बनाउन तथा नागरिकको जीवन रक्षा गर्न संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यो प्रयास गरेको बताउनुभयो । प्रबन्धक अवस्थीका अनुसार सडकमा सवारी चेकिङ गर्दा आवश्यक पर्ने ट्राफिक कोन, लाइट र सचेतनामूलक बोर्डहरू काठमाडौँबाट विशेष रूपमा मगाएर ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको हो । जिन्दगीको लामो यात्रामा अनेकौँ उतारचढाव आउने हुनाले सडकमा गुड्ने सवारी र चालकलाई सम्भावित जोखिमबाट जोगाउन यी सामग्रीले महत्वपूर्ण मद्दत पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा इशान मेमोरियल अस्पताल बेलौरीका अध्यक्ष आईजङ्ग कुँवरले देशमा वित्तीय संकटका कारण धेरै सहकारीहरू ढलेर बचतकर्ताको रकम जोखिममा परेको वर्तमान अवस्थामा पनि मेगा बचत सहकारीले आफ्नो अब्बल र असल आर्थिक नीतिका कारण आफूलाई सुरक्षित राख्न सकेको बताउनुभयो । उहाँले संस्थाका कर्मचारीहरूको अहोरात्रको खटाई र कुशल व्यवस्थापनकै कारण बचतकर्ताको रकम सुरक्षित रहनुका साथै समाजको आर्थिक गतिविधिलाई चलायमान बनाउन संस्थाले ठुलो योगदान पुर्याएको उल्लेख गर्नुभयो । अध्यक्ष कुँवरले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता क्षेत्रमा योगदान पुर्याउन केन्द्रबाट आउने बजेटलाई स्थानीय म्यानेजर र प्रबन्धकहरूले झन्झट नमानी पहल कदमी लिनुपर्ने सुझाव दिँदै मेगा सहकारीले बेलौरीमा गरेको यो उदाहरणीय कार्यलाई यस क्षेत्रका अन्य वित्तीय संस्थाहरूले पनि पछ्याउनुपर्नेमा जोड दिनुभयो ।

१३औँ वार्षिकोत्सवकै अवसरमा सहकारी र इशान मेमोरियल अस्पताल बिच भएको स्वास्थ्य उपचार सम्झौता (MOU) बारे थप प्रष्ट पार्दै अस्पतालका अध्यक्ष कुँवरले “मेरो बचतकर्ता प्रति मेरो उत्तरदायित्व” भन्ने मूल भावनाका साथ सम्झौता गरिएको जानकारी दिनुभयो । सम्झौता अनुसार मेगा सहकारीका सदस्यहरूले आफ्नो पासबुक वा आबद्धता कार्ड लिएर आएको खण्डमा अस्पतालले ओपिडी (OPD) र इमर्जेन्सी (आकस्मिक कक्ष) को कुनै पनि शुल्क लिने छैन । यसका साथै औषधी खरिदमा ५ प्रतिशत र ल्याब टेस्टिङ, इसिजी, भिडियो एक्सरे तथा अस्पतालमा भर्ना हुनुपर्ने अवस्था जस्ता अन्य सेवाहरूमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । अस्पतालमा २४सै घण्टा एमबिबिएस डाक्टर जाफिर आलमद्वारा गुणस्तरीय सेवा प्रदान भइरहेको समेत अध्यक्ष कुँवरले जानकारी दिनुभयो । करिब ८० करोडको पुँजी रहेको यस सहकारीले आगामी दिनमा आफ्नो वित्तीय आकारलाई अर्बौँमा परिणत गर्दै यस क्षेत्रका जनताको सेवामा अझै समर्पित हुने अपेक्षा स्थानीय सरोकारवालाहरूले राखेका छन् ।

उक्त विशेष वार्षिकोत्सव कार्यक्रममा कुमारी बैंकका प्रबन्धक, महालक्ष्मी विकास बैंकका प्रबन्धक डम्बर ओझा, सृजनशील सहकारीका प्रबन्धक अनिल भट्ट तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलौरीका प्रमुख वरिष्ठ हवलदार खेमराज भट्ट लगायत सहकारीका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । व्यावसायिक सफलतासँगै स्थानीय समाज र आफ्ना सदस्यप्रतिको जिम्मेवारीलाई बुझेर संस्थाको बेलौरी शाखाले चालेको यो कदमलाई कार्यक्रमका अतिथिहरू, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र आम सर्वसाधारणले एक परिपक्व संस्थाको पहिचानका रूपमा व्याख्या गर्दै उच्च सराहना गरेका छन् ।





