दुई विद्यालयका NCC विद्यार्थीहरूबीच अनुभव आदान–प्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न

बेलौरी, कञ्चनपुर ।

श्री उग्रतारा बाल विद्यालय र पुनर्वास नगरपालिका ३, आई.बी.आर.डी. स्थित श्री जनकल्याण माध्यमिक विद्यालयका NCC विद्यार्थीहरूबीच आज संयुक्त रूपमा अनुभव आदान प्रदान, पारस्परिक सहजीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा दुवै विद्यालयका NCC विद्यार्थीहरूले आ आफ्ना अनुभव, सिकाइ तथा तालिमका क्रममा प्राप्त ज्ञान र सीपहरू एक अर्काबीच आदान प्रदान गरेका थिए। यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सहयोग, अनुशासन, सहकार्य तथा आत्मीयता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा श्री जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद के.सी.ले दुवै विद्यालयका NCC विद्यार्थीहरूलाई शुभकामना दिँदै आगामी तालिम तथा प्रशिक्षण उत्कृष्ट र उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

त्यसैगरी, राष्ट्रिय सेवा दलबाट दुवै विद्यालयमा खटिएर आउनुभएका प्रशिक्षकहरूले NCC का प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन, प्रशिक्षणसम्बन्धी जानकारी तथा सहजीकरण प्रदान गर्नुभएको थियो। प्रशिक्षकहरूले NCC तालिममा अनुशासन, समयपालन, नेतृत्व क्षमता, सहकार्य तथा जिम्मेवारीबोधलाई विशेष प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो।

श्री उग्रतारा बाल विद्यालयका NCC समन्वय शिक्षक सञ्जय शाहले दुवै विद्यालयका विद्यार्थीहरूले एक अर्काका राम्रा पक्षहरूको अनुसरण गर्दै कमजोर पक्षहरू सुधार गर्ने अवसर प्राप्त गरेको बताउनुभयो। उहाँले यस्ता संयुक्त कार्यक्रमहरूले विद्यार्थीहरूबीच आपसी परिचय र आत्मीयता बढाउनुका साथै आगामी दिनमा सहकार्य र अनुभव आदान प्रदानका लागि थप अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमले दुवै विद्यालयका NCC विद्यार्थीहरूबीच मित्रता, सहकार्य, नेतृत्व क्षमता र सकारात्मक सिकाइको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्। भविष्यमा पनि यस्ता संयुक्त कार्यक्रमहरूलाई निरन्तरता दिइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ