बेलौरी, कञ्चनपुर ।
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरवको आयोजना अन्तर्गत निर्माणाधीन कञ्चनपुरको बेलौरी कलुवापुर सडक खण्डको निर्माण कार्यमा ७० प्रतिशत भौतिक प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ सम्मको प्रगति विवरण अनुसार यस आयोजनाको वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ। बेलौरी कलुवापुर नाइल बुडर सडक नामकरण गरिएको यस योजनाको कुल ठेक्का लागेको लम्बाइ ९ दशमलव १ किलोमिटर रहेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार यस सडक खण्डको निर्माणका लागि कुल लागत अनुमान २४ करोड ४० लाख ६४ हजार रुपैयाँ गरिएकोमा निर्माण कम्पनीसँग १३ करोड ३६ लाख ५४ हजार रुपैयाँमा ठेक्का सम्झौता भई काम अगाडि बढाइएको थियो। सम्झौता रकम अनुसारको अधिकांश बजेट खर्च भइसक्दा समेत निर्माण कार्यले पूर्णता नपाएको भन्दै स्थानीय स्तरमा भने बेलाबेलामा असन्तुष्टि सुनिने गरेको छ।

निर्माण व्यवसायीको ढिलासुस्ती र बेलाबेलामा उत्पन्न हुने प्राविधिक कठिनाइका कारण तोकिएको समयमै काम सम्पन्न हुन नसक्दा स्थानीयले यसअघि पटकपटक सडक बन्द गरेरै दबाब दिँदै आएका थिए। ।
प्रदेश सरकारको बहुवर्षीय योजनाका रूपमा रहेको यस सडकको बाँकी ३० प्रतिशत काम निर्धारित गुणस्तर कायम राख्दै समयमै सम्पन्न गराउन सम्बन्धित निकाय र सरोकारवालाले नियमित खबरदारी गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ।





