सरकारी अस्पताल नजिक सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्था हटाउन सुदूरपश्चिम प्रदेश सरकारको पुनः ताकेता

धनगढी

सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्था आसपास सञ्चालनमा रहेका निजी क्लिनिक, पोलिक्लिनिक तथा प्रयोगशाला हटाउन कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्न पुनः निर्देशन दिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटीलाई औपचारिक पत्र पठाउँदै प्रदेश जनस्वास्थ्य सेवा ऐनअनुसार सरकारी स्वास्थ्य संस्था वरिपरि निजी व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय अविलम्ब कार्यान्वयन गर्न ताकेता गरेको हो।

सामाजिक विकास मन्त्रालयद्वारा जारी निर्देशनअनुसार सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) मा सरकारी अस्पताल तथा स्वास्थ्य संस्था परिसरको तीन सय मिटर दूरीभित्र कुनै पनि निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङहोम तथा प्रयोगशालालगायतका स्वास्थ्य व्यवसाय सञ्चालन गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था छ।

यसअघि मन्त्रालयले २०७९ मंसिर २९ गते निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९ जारी गर्दै स्वास्थ्य निर्देशनालयलाई आवश्यक कारबाही अघि बढाउन परिपत्र गरेको थियो। लामो समय बितिसक्दा पनि फिल्डस्तरमा उक्त मापदण्ड कार्यान्वयन नभई सरकारी अस्पताल आसपास नै निजी क्लिनिकहरूको चाप यथावत् देखिएपछि मन्त्रालयले पुनः सक्रियता देखाएको हो।

मन्त्रालयले २०८३ असोज १३ गते भएको मन्त्रीस्तरीय निर्णयलाई आधार मान्दै ऐन तथा स्थानान्तरण मापदण्डलाई तत्काल प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउन निर्देशनालयलाई कडा निर्देशन दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ