कञ्चनपुर (पुनर्वास) ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ मा आफ्ना एक बीमितको अकल्पनीय निधनपश्चात उहाँको परिवारलाई मृत्यु दाबी बापत साढे पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ।
करिब पाँच वर्षअघि सिटिजन लाइफ इन्स्योरेन्समा जीवन बीमा गराउनुभएकी स्वर्गीय माधवी आचार्यको निधन भएपछि कम्पनीले उहाँको परिवारलाई बीमा पोलिसी र नियमअनुसार बीमाङ्क रकम तथा काजकिरिया खर्च बापत कुल पाँच लाख पचास हजार रुपैयाँ हस्तान्तरण गरेको हो। पुनर्वासमा आयोजित एक औपचारिक कार्यक्रमका बीच कम्पनीले उक्त रकम बराबरको चेक मृतकका श्रीमान् हेमन्त खड्कालाई प्रदान गरेको छ।
दाबी भुक्तानीसँगै कम्पनीले बीमितका सन्तानको उज्ज्वल भविष्य र पठनपाठनलाई ध्यानमा राख्दै थप आर्थिक सुविधा समेत उपलब्ध गराउने भएको छ। बीमा योजनाको व्यवस्था अनुसार स्वर्गीय आचार्यको बच्चाले आगामी १३ वर्षसम्म हरेक महिना पाँच हजार रुपैयाँका दरले मासिक शिक्षा खर्च प्राप्त गर्ने सिटिजन लाइफ इन्स्योरेन्स बेलौरी शाखाले जनाएको छ। अभिभावक गुमाउँदा बालबालिकाको शिक्षामा कुनै किसिमको आर्थिक अभाव नहोस् भन्नका लागि यस किसिमको सुविधाले ठूलो राहत पुग्ने कम्पनीको विश्वास छ।
उक्त दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष, स्थानीय सहकारी संस्थाका अध्यक्षहरू, एजेन्सी म्यानेजरहरू लगायतका स्थानीय भद्रभलाद्मीको उपस्थिति रहेको थियो। कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम क्षेत्रीय प्रमुख गंगाराम जोशी र बेलौरी शाखा प्रमुख पुष्कर राज भट्टले संयुक्त रूपमा परिवारलाई चेक हस्तान्तरण गर्नुभएको थियो।





