कञ्चनपुर (बेलौरी) ।
नेपालीहरूको महान् चाड बडादशैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाको दिन आज कञ्चनपुरको बेलौरीसहित देशभर बिहान ११ बजेर ४७ मिनेटको शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको उक्त शुभ साइतमा घरघरमा दियो, कलश र गणेशको स्थापना गर्दै देवीको पूजा आराधना सुरु गरिएको हो। यस अवसरमा गाईको गोबरले लिपपोत गरिएको दशैंघर वा पवित्र कोठामा चोखो नदी वा स्थलबाट ल्याइएको बालुवा वा माटोमा देवी दुर्गाको प्रिय वस्तु मानिने जौ छरेर जमरा राख्ने परम्परा रहेको छ। विजया दशमीको दिनसम्म हुर्काइएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानेर टीका प्रसादसँगै ग्रहण गर्ने चलन छ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तलाई घटस्थापनाको उत्कृष्ट साइत मानिएको हो। सामाजिक सञ्जालमा घटस्थापनाको दिनलाई लिएर फैलाइएका भ्रम शास्त्रसम्मत नरहेको पनि उनले प्रष्ट पारेका छन्। त्यसैगरी, समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमले गाउँघरमा कतिपयले गहुँ र मकैको जमरा राख्ने गरे पनि शास्त्रीय रूपमा जौबाहेक अन्य अन्न रोप्ने विधान नरहेको बताएका छन्।
आज स्थापना गरिएको घडामाथि शक्तिस्वरूपा दुर्गाको आह्वान गरी नवरात्रभरि शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको विशेष पूजा अर्चना गरिन्छ। यस अवधिमा सुदूरपश्चिम प्रदेश र कञ्चनपुरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वले समुदायमा भाइचारा, शान्ति र एकताको सन्देश प्रवाह गर्दछ।
यस वर्षको दशैंको मुख्य दिन अर्थात् विजया दशमी कात्तिक ४ गते परेको छ भने मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने अति उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा तोकिएको छ।





