दशैँ मनाउन घर फर्किनेको लर्को : गड्डाचौकी नाकामा यात्रुको चाप, सुरक्षा व्यवस्था कडा

कञ्चनपुर ।

नेपालीहरूको महान् चाड बडादशैँको सुरुवात स्वरूप घटस्थापना सुरु भएसँगै भारतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका नेपालीहरू चाडपर्व मनाउन घर फर्किने क्रम बढेपछि पश्चिमी सीमा नाका गड्डाचौकीमा ठूलो भीड लागेको छ।

स्वदेश फर्किने नागरिकहरूको सहजता र सुरक्षालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ। नाकामा यात्रुहरूको चापलाई व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा यात्रु सहायता कक्ष स्थापना गरी घर फर्किने नेपालीहरूलाई आवश्यक सहजीकरण गरिरहेका छन्।

चाडपर्वको समयमा सीमा नाकामा हुने लुटपाट, ठगी र यात्रुहरूले भोग्नुपर्ने अनावश्यक झन्झटलाई अन्त्य गर्न सुरक्षा सतर्कता उच्च पारिएको छ। विगतका वर्षहरूमा यात्रुहरू ठगिने र दुःख पाउने गुनासो आउने गरेको सन्दर्भलाई ध्यानमा राख्दै सुरक्षा निकायले निगरानी बढाएको हो।

सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाहरूका साथै देशभरका नागरिकहरू यस नाका हुँदै भित्रिने हुनाले गड्डाचौकीमा चहलपहल ह्वात्तै बढेको छ। रोजगारीको सिलसिलामा भारत पसेका नागरिकहरू वर्ष दिनको चाडमा परिवारसँग रमाउन जन्मभूमि फर्किँदा नाकामा छुट्टै उल्लास र व्यस्तता देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ