कञ्चनपुर ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती र प्रहरी चौकी परासनको संयुक्त टोलीले १३ जनालाई पक्राउ गरेको छ। समाजमा बढ्दै गएको विकृति नियन्त्रण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर प्रहरीले जुवातास तथा अवैध गतिविधि विरुद्ध कडा कदम चाल्दै कानुन कार्यान्वयनमा निर्ममता अपनाएको हो।
यही असोज २७ गते बिहान करिब पौने चार बजेको समयमा गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका वडा नम्बर १ डाँडाबिचवा स्थित बदलु रानाले सञ्चालन गरेको खुद्रा तथा खाजा पसलमा छापा मारेको थियो। ई प्र का त्रिभुवन बस्तीका प्रहरी वरिष्ठ नायब निरीक्षक कैलाश कुमार मल्ल र प्रहरी चौकी परासनका प्रहरी हवल्दार इन्द्र बहादुर शाहीको कमाण्डमा गएको संयुक्त प्रहरी टोलीले पसलभित्र हारजितको दाउ राखेर जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट १३ हजार ५ सय ९० रुपैयाँ नगद र दुई गड्डी खुला तास बरामद गरेको छ। पक्राउ पर्नेहरूमा पसल सञ्चालक ३१ वर्षीय बदलु राना, पदम सिंह राना, सिद्धान्त राना, बन्धु राना, मुकेश राना, रमेश राना, साधु राना, रामकृष्ण राना, राम निवास राना, राम मनिष राना, आशिष राना, दिलिप राना र करण राना रहेका छन्। पक्राउ परेका सबै सोही क्षेत्रका स्थानीय युवाहरू हुन्।
नियन्त्रणमा लिइएका सम्पूर्ण व्यक्तिहरूलाई आवश्यक सोधपुछ तथा थप कानुनी अनुसन्धानका लागि हाल ईप्रका त्रिभुवन बस्तीमा राखिएको जानकारी प्राप्त भएको छ।





