‘बजेट अंकमा होइन, जनताको जीवनस्तर परिवर्तनमा देखिनुपर्छ’:प्रदेश सभा सदस्य लक्ष्मी विक

धनगढी।

सुदूरपश्चिम प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान (बजेट) माथिको छलफलमा बोल्दै पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लक्ष्मी विकले बजेटको आकार र अंकभन्दा पनि यसले नागरिकको जीवनमा ल्याउने सकारात्मक परिवर्तन तथा प्रभावकारी कार्यान्वयनको पक्ष सबैभन्दा महत्त्वपूर्ण हुने बताएकी छन्।

प्रदेशमा विगत केही महिनादेखि देखिएको बजेट शून्यताको अन्त्य गर्दै ल्याइएको ३७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिलाई लिएर उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। संसद्मा प्रतिपक्षको सिट खाली हुनु दुखद भएको उल्लेख गर्दै उनले यसको जवाफदेहिता सत्तापक्षले लिनुपर्ने र संसद्मा प्रस्टीकरण दिनुपर्ने माग गरिन्। सरकारलाई असफल हुने कुनै छुट नरहेको भन्दै उनले राजनीतिक आग्रह वा पूर्वाग्रहबाट माथि उठेर सहमति र सहकार्यमार्फत समग्र प्रदेशको विकासमा केन्द्रित हुनुपर्ने धारणा राखिन्।

बजेटले विकास निर्माण, रोजगारी सिर्जना, सामाजिक न्याय, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नु सकारात्मक पक्ष रहेको सांसद विकको भनाइ छ। यद्यपि, महिला, दलित, विपन्न तथा अवसरबाट वञ्चित समुदायका लागि विनियोजित बजेटमा स्पष्टता नभएको र गोलमटोल भाषा प्रयोग गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। लक्षित वर्गको उत्थानका लागि ल्याइएका कार्यक्रमहरू कागजमा मात्र सीमित नभई प्रदेशका अति दुर्गम गाउँबस्तीका सडक, विद्यालय, अस्पताल र किसानको खेतबारीसम्म पुग्नुपर्ने उनको माग छ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले विनियोजित बजेटको करिब ६२ प्रतिशत मात्रै खर्च गर्न सकेको तथ्यांक प्रस्तुत गर्दै उनले सरकारको बजेट कार्यान्वयन क्षमतामा तत्काल सुधार आवश्यक रहेको औंल्याइन्। संघीय अनुदान र राजस्व बाँडफाँटमाथिको निर्भरता क्रमशः घटाउँदै लैजान प्रदेशको आन्तरिक आयस्रोत, उद्यमशीलता र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उनको सुझाव छ। अधुरा आयोजना सम्पन्न गर्ने, अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी बनाउने र अनावश्यक खर्च कटौती गरी सार्वजनिक रकमको प्रतिफल सुनिश्चित गर्नेतर्फ सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिइन्।

सुदूरपश्चिमको समृद्धि कुनै एक सरकार वा दलको मात्र नभई सम्पूर्ण प्रदेशवासीको साझा सपना र जिम्मेवारी भएकोले वित्तीय अनुशासन तथा सुशासन कायम गर्दै अघि बढ्नुको विकल्प नरहेको उनको निष्कर्ष छ। बजेट कार्यान्वयनमा पारदर्शी, जवाफदेही र परिणाममुखी कार्यशैली अपनाउन सके मात्र सुदूरपश्चिमेली जनताको भाग्य र भविष्य कोर्न सकिने यथार्थ प्रस्तुत गर्दै सांसद विकले सत्तापक्षको सांसदको हैसियतले बजेट पारित गर्न समर्थन जनाएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ