बेलौरी, कञ्चनपुर (कञ्चन आवाज) :
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट तथा योजना बाँडफाँडप्रति गम्भीर असन्तुष्टि जनाउँदै कञ्चनपुरबाट निर्वाचित नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्।
प्रदेशसभाबाट मंगलबार प्रदेश सरकारको वार्षिक बजेट पारित भएलगत्तै सांसद थापाले प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। सभामुख भण्डारीले सांसद थापाको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको औपचारिक रूपमा पुष्टि गरेका छन्।
केही समययता प्रदेश सरकारको बजेट विनियोजन र विकास योजनाहरूको छनोटमा चरम असमानता भएको भन्दै थापाले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। विशेषगरी कञ्चनपुरलगायतका क्षेत्रमा जनमुखी कार्यक्रमहरूलाई उपेक्षा गरिएको र न्यायोचित रूपमा बजेट वितरण नभएको उनको प्रमुख गुनासो रहँदै आएको थियो। बजेट निर्माणको प्रक्रियादेखि नै उनले संसद् र सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाइ नभएपछि उनले कठोर कदम चालेका हुन्।
लामो समय सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका थापा प्रदेशको राजनीतिमा आफ्ना स्पष्ट र खरो अडानका लागि चिनिन्छन्। जनजीविका, कृषकका समस्या र सुदूरपश्चिमको सन्तुलित विकासका पक्षमा निरन्तर उभिँदै आएका उनी पार्टी र सरकारभित्रै पनि जनसरोकारका विषयमा सम्झौता नगर्ने नेताका रूपमा परिचित छन्।
विकास र बजेट वितरणको असमानतालाई मुख्य कारण देखाउँदै बजेट पारित भएकै दिन दिइएको यस राजीनामाले सुदूरपश्चिमको राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ।





