बेलौरी / कञ्चनपुर । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरूको सहजता र शैक्षिक विकेन्द्रीकरणलाई मध्यनजर गर्दै पहिलोपटक देशका सातवटै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने ऐतिहासिक निर्णय गरेको छ।
विगत लामो समयदेखि काठमाडौँमा मात्र केन्द्रित रहँदै आएको दीक्षान्त समारोहलाई संघीय संरचनाअनुसार प्रदेशस्तरमा विस्तार गर्न लागिएको हो। विश्वविद्यालय सभाको ६७ औँ वार्षिक दिवस बैठकले ६४ औँ ग्रेस लिस्ट पारित गर्दै चालु वर्ष स्नातकदेखि विद्यावारिधि तहसम्मका ९५ हजार ५ सय ४० जना विद्यार्थीलाई दीक्षित गराउने निर्णय गरेको छ।
विश्वविद्यालयका अनुसार विसं २०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू यसपटकको दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन्। ग्रेस लिस्टमा समावेश भई उपाधि प्राप्त गर्न अनुमति पाएका विद्यार्थीहरूका लागि आगामी पुस महिनामा मूल दीक्षान्त समारोह आयोजना गरिने र क्रमशः प्रदेशस्तरमा समेत कार्यक्रम सञ्चालन गरिने तयारी छ।
काठमाडौँमा मात्रै समारोह हुँदा सुदूरपश्चिम लगायतका दुर्गम तथा टाढाका प्रदेशका विद्यार्थीहरूले आर्थिक भार र यातायातको झन्झट व्यहोर्नुपर्ने बाध्यता रहँदै आएको थियो। कञ्चनपुर र कैलाली लगायत सुदूरपश्चिमका विभिन्न क्याम्पसहरूमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरूले विश्वविद्यालयको यस कदमको स्वागत गर्दै आफ्नै प्रदेशमा दीक्षित हुन पाउनु गौरवको विषय भएको बताएका छन्।





