बेलौरी / कञ्चनपुर । नेपाल प्रिमियर लिगको आगामी तेस्रो संस्करणमा उपाधि जित्ने लक्ष्यका साथ सुदूरपश्चिम रोयल्सले शुक्रबार पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अनुभवी प्रशिक्षक मिसबाह उल हकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
अघिल्ला दुई संस्करणमा टोलीको नेतृत्व सम्हालेका नेपाली प्रशिक्षक जगत टमाटाको स्थानमा रोयल्स व्यवस्थापनले अन्तर्राष्ट्रिय स्तरका कीर्तिमानी रणनीतिकार मिसबाहलाई भित्र्याएको हो। पहिलो र दोस्रो सिजनमा लिग चरणको शीर्ष स्थानमा रहँदै लगातार फाइनल पुग्न सफल भए पनि उपाधि भिडन्तमा पराजित भएको सुदूरपश्चिमले यसपटक उपाधिको खडेरी तोड्न यो महत्त्वपूर्ण निर्णय लिएको छ।
मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै मिसबाहले नेपाली क्रिकेट समर्थकहरूको उत्साह र खेलप्रतिको लगावबारे आफूले धेरै सुनेको बताएका छन्। विशेषगरी सुदूरपश्चिम रोयल्सको प्रशिक्षकका रूपमा नेपाल आउन पाउँदा आफू निकै उत्साहित रहेको र छिट्टै मैदानमा भेट्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
सन् २०१७ मा सक्रिय खेल जीवनबाट संन्यास लिएका मिसबाहले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानको पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ताको दोहोरो भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन्। पाकिस्तानका लागि ७५ टेस्ट, १ सय ६२ एकदिवसीय र ३९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका उनले तीनवटै प्रारूपमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन्। सन् २०१६ मा उनकै कप्तानीमा पाकिस्तान इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टेस्ट वरीयतामा शीर्ष स्थानमा उक्लिएको थियो।
विश्व क्रिकेटका यति ठूला हस्ती सुदूरपश्चिमको टोलीमा अनुबन्ध भएसँगै कञ्चनपुर र कैलाली लगायत प्रदेशभरका क्रिकेट प्रेमी तथा युवा खेलाडीहरूमा नयाँ उत्साह थपिएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र दबाब झेल्न सक्ने मिसबाहको शान्त नेतृत्व शैलीले सुदूरपश्चिम रोयल्सलाई आसन्न प्रतियोगिताको उपाधि दिलाउनुका साथै यस क्षेत्रका स्थानीय प्रतिभाहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा समेत दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।





