चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू: बेलौरी र पुनर्वासमा थप प्रहरी जनशक्ति परिचालन

बेलौरी, कञ्चनपुर । नजिकिँदै गरेका प्रमुख चाडपर्व दसैँ र तिहारलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विशेष सुरक्षा योजना लागू गरी जिल्लाको दक्षिणी क्षेत्रमा पनि थप प्रहरी जनशक्ति परिचालन गरेको छ।

चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न र सर्वसाधारणलाई भयरहित वातावरणमा पर्व मनाउने प्रत्याभूति दिलाउन प्रहरीले जिल्लाभर सुरक्षा सतर्कता बढाएको छ। विशेषगरी दक्षिणी सीमावर्ती क्षेत्र अन्तर्गत पर्ने बेलौरी र त्रिभुवनबस्तीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा अतिरिक्त जनशक्ति खटाइएको छ।

कञ्चन आवाजसँगको कुराकानीमा जिल्ला कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीले तय गरिएको सुरक्षा कार्ययोजना अनुसार नै जिल्लाका सबै इकाइहरू परिचालित भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाको मागबमोजिम प्रदेश प्रहरी कार्यालयबाट थप मद्दत प्राप्त भइसकेको छ र सोही अनुरूप बेलौरी तथा त्रिभुवनबस्तीका प्रहरी इकाइहरूमा थप जनशक्ति पठाइएको छ। अर्को दक्षिणी स्थानीय तह बेलडाँडीमा पनि स्थानीय आवश्यकता र सुरक्षा संवेदनशीलताका आधारमा तत्काल थप मद्दत पठाउने गरी तयारी अवस्थामा राखिएको उहाँले स्पष्ट पार्नुभयो।

चाडपर्वको समयमा समाजमा मौलाउने जुवातास जस्ता गैरकानुनी गतिविधि विरुद्ध प्रहरीले कडा निगरानी राख्ने भएको छ। जुवातास नियन्त्रण प्रहरीको नियमित कार्यक्षेत्र र प्रमुख दायित्वभित्रै पर्ने उल्लेख गर्दै कार्यालय प्रमुख गिरीज्यूले जिल्लाका कुनै पनि स्थानमा जुवातास खेलिएको वा खेलाइएको सूचना प्राप्त भएमा तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभयो।

चाडपर्वको समयमा चोरी, तस्करी, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि रोक्न दक्षिणी क्षेत्रका मुख्य बजार र ग्रामीण नाकाहरूमा प्रहरी गस्ती बढाइएको छ। सुरक्षा व्यवस्थाको प्रभावकारिता बुझ्न जिल्ला प्रहरी नेतृत्वबाट समेत दक्षिणी क्षेत्रमा नियमित अनुगमनको तयारी गरिएको छ भने चाडपर्वका बेला कुनै पनि अवाञ्छित गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग पुर्‍याउन स्थानीयवासीमा अनुरोध गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ