आफूले दशैँ नमनाएर सुकुम्बासी बस्तीका विपन्न परिवारलाई नेता खडक नागरीको सहयोग

धनगढी, कैलाली।

नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले यस वर्ष आफूले दशैँ नमनाएर कैलालीको धनगढी उपमहानगरपालिका–१, मोनिकापुरस्थित सुकुम्बासी बस्तीका एक अति विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्नुभएको छ ।

आर्थिक अभावका कारण चाडपर्व मनाउन नसकेको पाँच सदस्यीय पीडित परिवारको दयनीय अवस्था देखेपछि संयोजक नागरीले वैदेशिक रोजगारीको सिलसिलामा हाल कुवेतमा रहनुभएका बिरु नेपाली र अजय जैरुको समेत सहकार्यमा उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । सहयोगस्वरूप पीडित परिवारलाई लत्ताकपडा, चामल, दाल, तेल, नुन, खुर्सानी, मसला, कुखुरा, फलफूल र नुहाउने साबुनलगायतका दैनिक उपभोग्य वस्तुका साथै ब्ल्याङ्केट, डस्ना, सिरानी र तन्ना जस्ता ओढ्ने ओछ्याउने सामग्री प्रदान गरिएको छ ।

चरम गरिबीका कारण बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ परिरहेको अवस्थामा दशैँको समयमा घरमै खाद्यान्न र न्यानो कपडा पाएपछि पीडित परिवारमा खुसी छाएको छ । राहत सामग्री बुझ्दै परिवारकी एक वृद्धाले भावुक हुँदै भन्नुभयो, “सबैको घरमा दशैँ आयो, तर हाम्रो घरमा कहिल्यै दशैँ चाड के हो भन्ने थाहा भएन ।”

ती वृद्धाको पीडा र परिवारको कष्टकर जीवनयापन देखेपछि मानवीय संवेदनाका आधारमा खाद्यान्न र लत्ताकपडाको जोहो गरिदिएको संयोजक नागरीले बताउनुभयो । राजनीतिक नेतृत्वमा रहनु भनेको पद र प्रतिष्ठा मात्र नभई नागरिकको दुःखमा साथ दिनु पनि हो भन्ने मान्यताका साथ आफू सामाजिक सेवामा जुटेको उहाँको भनाइ छ । चाडपर्वको वास्तविक खुसी अरूको अनुहारमा मुस्कान ल्याउनु र संकटमा परेका नागरिकलाई सघाउनुमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

लामो समयदेखि सुदूरपश्चिमका गरिब, असहाय तथा विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा र औषधोपचारमा सहयोग पुर्‍याउँदै आउनुभएका नागरीले विभिन्न समयमा हजारौँ पीडितलाई आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभएको छ । चाडपर्वका बेला सुकुम्बासी बस्तीका असहाय नागरिकको घरदैलोमा पुगेर गरिएको यस प्रकारको मानवीय सहयोगले समाजमा सेवा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावनालाई अझ बलियो बनाउने सन्देश दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ