प्रधानमन्त्री कार्यालयको चासोपछि सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको प्रहरीको स्पष्टीकरण

काठमाडौं । प्रहरी संगठनविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भ्रामक सन्देश प्रवाह भएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो व्यक्त गरेपछि केही पत्रकारलाई सोधपुछका लागि साइबर ब्युरोमा बोलाइएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

शुक्रबार सादा पोशाकमा खटिएको प्रहरी टोलीले नयाँ पत्रिका दैनिकको कार्यालयमा साढे दुई घण्टासम्म घेराउ गरी पत्रकार पक्राउको प्रयास गरेको तथा केही सञ्चारकर्मीलाई नियन्त्रणमा लिएर छाडेको घटनापछि चौतर्फी आलोचना भइरहँदा प्रहरी प्रधान कार्यालयले राति विज्ञप्ति जारी गर्दै सो प्रस्टीकरण दिएको हो ।

यस प्रकरणमा सुरुमा प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले अनभिज्ञता प्रकट गरेका थिए । तर प्रहरीको आधिकारिक वक्तव्यले भने बालुवाटारकै प्रत्यक्ष चासो र निर्देशनका आधारमा प्रहरी परिचालन भएको तथ्य उजागर गरेको छ ।

प्रहरीविरुद्ध निरन्तर भइरहेका गलत प्रचारले संगठनको व्यावसायिकता, जनविश्वास, सरकार र प्रहरीबीचको सम्बन्ध तथा अपराध अनुसन्धान प्रक्रियामा समेत नकारात्मक असर पर्न सक्ने भन्दै प्रधानमन्त्री कार्यालयले गम्भीर चासो राखेको विज्ञप्तिमा उल्लेख छ । सोही चासोलाई सम्बोधन गर्न साइबर ब्युरोले सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएर प्रचारित सामग्रीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी मात्र लिएको प्रहरीको जिकिर छ ।

सञ्चारकर्मीलाई ब्युरोमा बोलाइएको कार्यलाई नियमित कार्यसम्पादनको हिस्सा दाबी गर्दै प्रहरीले यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउनु नरहेको प्रस्ट्याएको छ । राज्यको चौथो अंगका रूपमा रहेको प्रेसजगत् र पत्रकारहरूको सुरक्षा तथा स्वतन्त्रताप्रति संगठन सदैव कटिबद्ध रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

सञ्चारगृहमै प्रहरी परिचालन गरी पत्रकारमाथि गरिएको धरपकडलाई लिएर प्रमुख राजनीतिक दल तथा सरोकारवाला निकायहरूले विधिको शासन र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ