बेलौरी, कञ्चनपुर । इलाका प्रहरी कार्यालय बेलौरी लगायत कञ्चनपुरका विभिन्न प्रहरी युनिटहरूले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका पौने ६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका सामानहरू बरामद गरी शुक्रबार भन्सार कार्यालय पठाएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार बिहीबार जिल्लाका विभिन्न स्थानबाट कुल ५ लाख ६५ हजार ७ सय ७० रुपैयाँ बराबरका भन्सार छलीका सामग्रीहरू नियन्त्रणमा लिइएको हो। बरामद गरिएका सामानहरूमध्ये सबैभन्दा ठूलो परिमाण बेलौरी क्षेत्रको रहेको छ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले ५ लाख ३३ हजार रुपैयाँ बराबरको मोबाइलका डिस्प्ले र पानी तान्ने मोटर बरामद गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, दक्षिणी क्षेत्रकै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले १९ हजार ४ सय २० रुपैयाँ मूल्य बराबरको पावर कन्ट्रोल बोर्ड, कन्ट्रोल प्यानल बक्स, रेफ्रिजरेटर थर्मोस्ट्याट र प्लास्टिक पोलेथिन नियन्त्रणमा लिएको छ। उता वडा प्रहरी कार्यालय महेन्द्रनगरले पनि १३ हजार ३ सय ५० रुपैयाँ बराबरका भन्सार छलीका विविध सामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले नियन्त्रणमा लिएका सम्पूर्ण सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।





