बेलौरी, माघ १७ – शहीद दिवसको अवसरमा एनप्याब्सन कञ्चनपुर जिल्ला कार्यसमिति द्वारा आयोजित जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आज भव्य रूपमा सम्पन्न भएको छ। बेलौरीमा पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा ४० टिमको उत्साहजनक सहभागिता रहेको थियो।
समापन समारोहमा एनप्याब्सन जिल्ला कार्यसमितिका अध्यक्ष सत्यस ब. चन्दले एनप्याब्सनले खेलकुद प्रतियोगितालाई विकेन्द्रिकरण गर्दै, सदैव खेल तथा शिक्षा क्षेत्रको विकासमा योगदान दिँदै अघि बढ्ने प्रतिबद्धता जनाए। उनले शिक्षा र खेलकुदबीचको अन्तरसम्बन्धलाई अझ बलियो बनाउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता प्रतियोगिताहरू महत्वपूर्ण रहेको बताए।

समारोहमा बेलौरी ब्याडमिन्टन क्लबका संस्थापक तथा व्यवसायी सुरज श्रेष्ठले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई अनुशासन, धैर्यता, र आत्मविकासको आधार भएको उल्लेख गर्दै खेलकुदलाई जीवनशैलीसँग जोड्न आवश्यक रहेको धारणा राखे। उनले भने, “बेलौरीमा पहिलो पटक आयोजित यो प्रतियोगिता अब खेल संस्कृतिलाई संस्थागत गर्दै अघि बढ्ने प्रेरणाको स्रोत बन्नुपर्छ।” साथै, बेलौरीमा ब्याडमिन्टन खेलको विकासमा उग्रतारा बाल विद्यालयको योगदान महत्वपूर्ण रहेको पनि जिकिर गरे।

प्रतियोगितामा माध्यमिक, उच्च माध्यमिक, तथा आधारभूत तहका छात्र-छात्राहरू ले प्रतिस्पर्धा गरेका थिए। नकआउट प्रणालीमा सम्पन्न प्रतियोगितामा विजेताहरूलाई ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रत्येक विद्यालयका सहभागी खेलाडीलाई सहभागिताको प्रमाणपत्र पनि वितरण गरिएको थियो। प्रतियोगिता उग्रतारा बाल विद्यालयको उग्रतारा ब्याडमिन्टन हलमा सम्पन्न भएको थियो।
प्रतियोगिताका विजेताहरू
आधारभूत तह (B) छात्र तर्फ:
🏆 प्रथम: अनुपम एजुकेशनल एकेडेमीका छात्र पारश चन्द
🥈 द्वितीय: उग्रतारा बाल विद्यालयका आशिष कुवर
🥉 तृतीय: रोजी एक्सक्लुसिभ इङ्ग्लिस सेकेन्डरी स्कूलका अकिंत विष्ट र भुवनेश्वरी विद्या मन्दिरका विपिन नाथ
आधारभूत तह (B) छात्रा तर्फ:
🏆 प्रथम: उग्रतारा बाल विद्यालयकी छात्रा स्वर्णिमा कँडेल
🥈 द्वितीय: वात्सल्य विद्या निकेतनकी छात्रा श्रिद्धा भण्डारी
🥉 तृतीय: रेडिएन्ट सेकेन्डरी स्कूलकी अञ्जली र भुवनेश्वरी विद्या मन्दिरकी राधिका कार्की
माध्यमिक तह (A) छात्र तर्फ:
🏆 प्रथम: रोजी एक्सक्लुसिभ इङ्ग्लिस सेकेन्डरी स्कूलका नवीन रावल
🥈 द्वितीय: लिटिल बुद्ध एकेडेमीका दिपेन्द्र थापा
🥉 तृतीय: भुवनेश्वरी विद्या मन्दिरका टेकेन्द्र रावत र उग्रतारा बाल विद्यालयका शिशिर पाण्डे
माध्यमिक तह (A) छात्रा तर्फ:
🏆 प्रथम: बात्सल्य विद्या निकेतनकी प्रतिभा भण्डारी
🥈 द्वितीय: भुवनेश्वरी विद्या मन्दिरकी कुमारी जानकी खड्का केसी
🥉 तृतीय: लिटिल बुद्ध एकेडेमीकी कोपिला बडु र जनज्योति सेकेन्डरी स्कूलकी अमिशा कार्की
सेकेन्डरी (B) छात्र तर्फ:
🏆 प्रथम: रेडिएन्ट सेकेन्डरी स्कूलका छात्र
🥈 द्वितीय: लिटिल बुद्ध एकेडेमीका छात्र पार्वत भट्ट
🥉 तृतीय: जनज्योति सेकेन्डरी स्कूलका प्रकाश जोशी र रोजी एक्सक्लुसिभ इङ्ग्लिस सेकेन्डरी स्कूलका कपिल भट्ट
सेकेन्डरी (B) छात्रा तर्फ:
🏆 प्रथम: रेडिएन्ट सेकेन्डरी स्कूलकी छात्रा विनिता भट्ट
🥈 द्वितीय: रोजी एक्सक्लुसिभ इङ्ग्लिस सेकेन्डरी स्कूलकी छात्रा पुनम बम
🥉 तृतीय: लिटिल बुद्ध एकेडेमीकी छात्रा स्मारिका चन्द र जनज्योति सेकेन्डरी स्कूलकी छात्रा आरती डंगौरा

कार्यक्रममा एनप्याब्सन कञ्चनपुरका जिल्ला उपाध्यक्ष बलदेव भट्ट, नरेन्द्र महता, अनुपम एकेडेमीका एमडी मदन राज जोशी, वात्सल्य विद्या निकेतनका सहायक प्राचार्य सन्तोष साउद, विज्डम एकेडेमीका एमडी दिनेश कुवर, बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, आशिष बुक हाउसका सञ्चालक आशिष पोखरेल, तथा एनप्याब्सन जिल्ला सदस्य हर्कराज जोशीको उपस्थिति रहेको थियो।
प्रतियोगिताको निर्णायकको भूमिकामा बेलौरीका स्थानीय वरिष्ठ अम्पायर ज्ञानेन्द्र गौतम रहेका थिए। उग्रतारा बाल विद्यालयका प्रधानाध्यापक केशव विष्ट ले कार्यक्रमको सफल आयोजनामा सम्पूर्ण टिमको योगदान रहेको बताउँदै खेलकुदको विकासका लागि यस्ता प्रतियोगिताहरूको निरन्तरताको आवश्यकता औंल्याए। कार्यक्रमको सहजीकरण एनप्याबसनका जिल्ला सचिव कुबेर खडकाले गरेका थिए।
बेलौरीमा पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रशिक्षण तथा प्रतिस्पर्धाको वातावरण प्रदान गर्नुका साथै खेल संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ।












