इलाका प्रहरी कार्यालय बेलौरीद्धारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न : प्रति प्रहरी ७६५ जना आमनागरिकको सुरक्षा कार्यभार काँधमा

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेलौरी नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी भन्ने धारणाका साथ अगाडि बढिरहदा इलाका प्रहरी कार्यालय बेलौरीले बेलौरी नगरपालिकामा सम्पादन गरेका कार्यक्रम तथा गतिविधिबारे सो नागरिक सुनुवाई कार्यक्रममा जानकारी दिईएको थियो ।

 

बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी प्रमुख अतिथिको रुपमा रहेको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्र राज जोशीको सभाध्यक्षता रहेको थियो । विभिन्न राजनीतिक पार्टीका नगरप्रमुख तथा प्रतिनिधि लगायत बेलौरी नगरपालिकाका प्रमुख प्रशासककिय अधिकृत गणेश सिंह ऐरी सँगै वडाका जनप्रतिनिधि, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, सिमा सुरक्षा, नापी कार्यालय, बैँक तथा वित्तिय संस्था, बेलौरी उद्योग वाणिज्य संघ, पूर्व प्रहरी संगठन, विद्यालय व्यवस्थापन समिति, व्यवसायी, समाजसेवि, बेलौरी खेलकुद नगर समिति, युवा सञ्जाल तथा महिला प्रतिनिधि र मिडियाकर्मी लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

 

कार्यक्रममा इलाका प्रहरी कार्यालयले प्रस्तुत गरेको कार्यसम्पादन अनुसार बेलौरीमा जम्मा ५ ओटा प्रहरी ईकाई रहेको र कुल ८९ जना दरबन्दि रहेको अवस्थामा हाल जम्मा ७० जना प्रहरी जनशक्ति मात्र कार्यरत रहेको व्यहोरा प्रस्तुत गरिएको थियो । प्रहरी ईकाई सेवा अन्तर्गत लालझाडी गाउँपालिका वडा नं २, ३, ४ र ६ मा रहेको इलाका प्रहरी चौकीको अवस्था अन्य कार्यालयको तुलनामा संरचनागत हिसाबले मर्मत सम्भार गर्नुपर्ने टड्कारो आवश्यकता रहेको समेत सो सुनुवाई कार्यक्रममा बताईयो ।

लागु औषध नियन्त्रण सम्बन्धमा यसवर्ष जम्मा ७४ दशमलव ९ ग्राम खैरो हेरोईन बरामद भएकोमा १८६ दशमलव ४८ ग्राम चरेश र एक दशमलव ३२ ग्राम गाँजा नियन्त्रणमा लिईएको थियो । लागु औषध ओसारपसार कार्यमा पक्राउ पर्नेमा १५ जना पुरुष तथा ५ जना बालबालिका गरि कुल २० जना रहेका थिए ।

 

त्यस्तै चोरीको केसमा घर, पसल लगायत मोटरसाईकल तथा साईकल चोरीमा हालसम्म अनुसन्धानको क्रममा रहेको गरि जम्मा १० व्यक्तिहरुमाथि मुद्दा दर्ता भएको र एकजना व्यक्तिलाई हालसम्म दुईपटक चोरीको केसमा पक्राउ गरिएको र १६ वटा चोरीका मोटरसाईकल बरामद गरेको समेत उक्त विवरणमा पेश गरिएको थियो ।

वन्यजन्तु सम्बन्धि ओखेटोपहार शीर्षकमा गत फागुन १६ गते बेलौरी नगरपालिका वडा नं ७, ठुलो सिंहपुरबाट बाघको छाला, जरायोको सिंघ, बदेलको बंगारा लगायत वन्यजन्तु शिकारमा प्रयोग हुने सामाग्री सहित १ जना महिलालाई पक्राउ गरिएको समेत सो कार्यक्रममा जानकारी गराईयो ।

जुवातास शीर्षकमा २७ जना, अवैध नदिजन्य पदार्थ नियन्त्रण अन्र्तगत ५ ओटा ट्रयाक्टर लगायत अवैध हातहतियार सहित १ जनालाई नियन्त्रणमा लिएको व्यहोरा समेत प्रस्तुत भयो ।

सवारी दुर्घटना सन्दर्भमा हालसम्म ४३ ओटा सडक दुर्घटना भएकोमा २६ जनाको उद्दार गरिएको विवरण समेत सो नागरिक सुनुवाई कार्यक्रमले प्रस्तुत गरेको थियो ।

त्यसैगरि भन्सार छलि नियन्त्रण अन्तर्गत ४७ लाख २१ हजार ३० रुपैया बराबरको सामान भन्सार पठाईएको र १६ लाख ३२ हजार १०१ रुपैया बराबरको अवैध माछामासु तथा सरसामान नष्ट गरि जम्मा ६३ लाख ५३ हजार १३१ रुपैया बराबरको सामान नियन्त्रण भएको व्यहोरा प्रस्तुत भयो ।

प्रहरी कार्यालयले ज्यान सम्बन्धि कसुर–कर्तव्य ज्यान सम्बन्धमा यसै वर्षको मंसीर १३ गते हत्या गरिएका सियाराम रानाको केसमा न्याय दिलाउन सफल भएको समेत जिकिर गर्यो ।


त्यस्तै शान्ति सुरक्षा तर्फ विभिन्न सार्वजनिक तथा साँस्कृतिक, शैक्षिक लगायत कार्यक्रममा शान्ति सुरक्षा प्रदान गरेको र समुदार प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जम्मा ८१ ओटा सचेतनामूलक कार्यक्रम गरिएको जानकारी गराईयो ।

इलाका प्रहरी कार्यालयले सम्पादन गरेका कामहरु बाहेक न्यून जनशक्ति तथा श्रोत साधन र भौतिक पुर्वाधारको अभावमा प्रति प्रहरी ७६५ जना नागरिकलाई सुरक्षा दिनुपर्ने कार्यभार रहेको समेत बताईएको थियो । यसबाहेक जनमानसमा बढ्दो स्वयम्लाई हानी गर्ने प्रवृति, छिमेकी मुलुक भारतसँगको खुला सिमाना, साईबर अपराध, ट्राफिक नियम पालना नगर्दा हुने सवारी दुर्घटना, लागु औषध दुर्व्यसन तथा विपद र वन्यजन्तुबाट हुने क्षति प्रहरी इकाइको लागि समस्या तथा चुनौती रहेकोमा सम्बन्धित सम्पूर्ण सरोकारवालाले समन्यवयन गर्न अनुरोध गरिएको थियो ।

सो कार्यक्रममा इलाका प्रहरी कार्यालयले आफुले गरेका कार्यसम्पादनका विवरण लगायत उपस्थित सरोकारवालाहरुबाट जिज्ञासा, गुनासो तथा अनुरोधलाई सहर्ष लिदै प्रत्येक विषयहरुको सम्बोधन समेत सभाध्यक्षमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्र राज जोशीले गर्दै आमनागरिक पनि विना बर्दिका प्रहरी हुन् भन्दै सहकार्य गर्न र निष्पक्ष भई कुनैपनि घटनामा आफ्नो पराया नहेरि निर्मम व्यवहार गर्न सकिए सामाजिक सुरक्षा तथा शान्ति कायम हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अन्तमा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले आमनागरिक बाट आएका गुनासा तथा जिज्ञासालाई सम्बोधन गर्दै पालिका र नगरवासीबिच सुमधुर सम्बन्ध कायम गर्न बेलौरी नगरपालिका सदैव लागिपरेको आश्वासन समेत व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ