कञ्चनपुर, वैशाख १६ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘जनतासँग माओवादी’ अभियान अन्तर्गत बुधबार बिहान बेलौरीमा श्रृंखलाबद्ध कार्यक्रमहरू सम्पन्न हुने भएका छन्। स्वागत, अवलोकन, र अन्तर्क्रिया समेटिएको यो कार्यक्रम बेलौरी नगरपालिकामा हुने भएको हो।
उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार, बिहान ९ बजेबाट १०:३० बजेसम्म रामनगर खानेपानी आयोजनाको उद्घाटन कार्यक्रम हुनेछ। यसै क्रममा सहिद स्मारकमा माल्यार्पण तथा बेलौरीको शोभाताल क्षेत्रको अवलोकनसमेत गरिने जानकारी दिइएको छ।
त्यसपश्चात बिहान १०:१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभाहलमा विशेष स्वागत तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ। त्यसपश्चात कलकत्ता हाटबजार अवलोकन सँगै बेलडाँडी गाउँपालिकामा कोणसभा आयोजना गरिने छ । यी सम्पूर्ण कार्यक्रम सम्पन्न गर्दै अभियान भीमदत्त नगरपालिका स्थित संविधान चोक स्मारकमा पुगेर समापन हुने जानकारी उपलब्ध भएको छ।





