बेलौरी, कञ्चनपुर, बैशाख २१। कञ्चनपुर जिल्लाको सीमावर्ती क्षेत्र अन्तर्गत पर्ने भारतीय भूभागको शारदापुरी एसएसबी बोर्डर आउटपोस्टमा आज नेपालका सञ्चारकर्मी र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा दुवै देशका नागरिकबीचको व्यवहारिक समस्या, सीमापार आवत–जावतका क्रममा देखिने असजिलोहरू, र पारस्परिक सद्भाव कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल गरिएको थियो।

कञ्चन आवाज मिडियाका प्रतिनिधि सुरज श्रेष्ठ र केशव भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुर जिल्ला समिति सदस्य तथा बेलौरी अनलाइनका माधव पौडेल, दीप न्यूज प्रा.लि.का नवराज अवस्थी तथा चौधरी खबरका दिनेश चौधरी कार्यक्रममा सहभागी थिए।
शारदापुरी बोर्डर आउटपोस्टका ईन्चार्ज सहायक कमान्डर हरबन्स सिंहले पत्रकारहरूलाई स्वागत गर्दै एसएसबीको तर्फबाट खुला सीमा व्यवस्थापनमा मिडियाको भूमिकालाई सकारात्मक बताए। उनले भने, “सीमा सुरक्षामा पारदर्शिता, नागरिक सहजता, र आपसी विश्वास निर्माणका लागि सञ्चारमाध्यमले पुलको भूमिका खेल्न सक्छ।”

कार्यक्रममा सहभागी नेपाली पत्रकारहरूले सीमा क्षेत्रमा देखिने व्यवहारिक समस्याहरू समाधान गर्न दुबै पक्षबीच नियमित बैठक तथा संवाद आवश्यक रहेको धारणा राखे।

कार्यक्रमले दुवै देशबीचको सीमा सहकार्य, सुरक्षामा समन्वय र पत्रकारितामार्फत समाधान खोज्ने प्रयासलाई थप सबल बनाउने विश्वास लिएको छ।





