पुनर्वासको डोकेबजार सीमाबाट पौने चार किलो चरेश र भारतीय कागजातसहित झोला बरामद, तस्कर भारततर्फ फरार

पुनर्वास (कञ्चनपुर), २८ भदौ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले गस्ती टोलीलाई देखेपछि छाडिएको झोलाबाट तीन किलो आठ सय ५० ग्राम चरेश र विभिन्न कागजात बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डोकेबजारबाट सशस्त्र प्रहरी हवल्दार महेन्द्र विष्टको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले नियमित गस्तीका क्रममा शङ्कास्पद गतिविधिलाई रोक्ने प्रयास गर्दा उक्त घटना भएको हो। पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारस्थित नेपाल भारत सीमा इलाकामा गस्ती टोलीलाई देख्नासाथ एक पुरुष व्यक्ति आफूले बोकेको जेब्रा झोला सोही स्थानमा छाडी भारततर्फ भागेका थिए।

फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको छ भने घटनास्थलबाट नियन्त्रणमा लिइएको झोला खानतलासी गर्दा वाईवाई चाउचाउको कार्टुनभित्र लुकाइराखेको अवस्थामा चरेश जस्तो देखिने गाढा खैरो रङको लागुऔषध फेला परेको सुरक्षा निकायले जनाएको छ। सोही झोलाबाट ईश्वरबहादुर धामीको नाममा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र, भारतीय आधार कार्ड, भारतको कर्णाटक राज्यको ड्राइभिङ लाइसेन्स तथा सवारी साधन दर्ता प्रमाणपत्र फेला परेका छन्।

यसैगरी झोलाबाट नेपाली मोबाइल नम्बरका दुईवटा सिम एडप्टर र २९ वटा वाईवाई चाउचाउका प्याकेटहरू समेत बरामद गरिएको छ। घटनालगत्तै बरामद गरिएका सम्पूर्ण लागुऔषध तथा कागजातहरू बीओपी डोकेबजारमा सुरक्षित साथ ल्याई आवश्यक अनुसन्धान तथा कानुन बमोजिमको कारबाहीका लागि प्रहरी चौकी पचकडिया, कञ्चनपुरलाई बुझाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ