बेलौरी (कञ्चनपुर):
कञ्चनपुरको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक (इमर्जेन्सी) कक्षमा प्रयोग हुने जीवनरक्षक औषधि तथा सर्जिकल सामग्रीको चरम अभाव भएको छ। बेलौरी नगरपालिकाले समयमै औषधि र आवश्यक सामग्री उपलब्ध गराउन नसक्दा केन्द्रमा उपचारका लागि पुग्ने बिरामीहरू बाहिरका निजी मेडिकलबाट महँगोमा औषधि किन्न बाध्य भएका छन्।

स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा अत्यावश्यक मानिने बिटाडिन सोलुसन, आइभी सेट, विभिन्न एमएलका सिरिन्ज, क्यानुला र सेफ्ट्रिएक्जोन जस्ता एन्टिबायोटिक इन्जेक्सनको मौज्दात शून्य अवस्थामा पुगेको छ।
आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार आधारभूत सामग्रीसमेत नहुँदा सेवा प्रवाहमा गम्भीर कठिनाइ उत्पन्न भएको छ। “अत्यावश्यक सामग्री नहुँदा बिरामीलाई सामान्य सुई र क्यानुला समेत बाहिरबाट किनेर ल्याउन लगाउनुपर्ने बाध्यता छ। सेवा लिन आएका बिरामी र आफन्तसँग औषधि छैन भन्दै वादविवाद गर्नुपर्ने अवस्था आएको छ,” ती स्वास्थ्यकर्मीले भने, “औषधि आपूर्तिका लागि करिब दुई हप्ताअघि नै औपचारिक प्रक्रिया अघि बढाइएको र आन्तरिक रूपमा समेत पटक-पटक ध्यानाकर्षण गराइएको भए पनि नगरपालिकाले समयमै सामग्री उपलब्ध गराउन सकेन।”
स्वास्थ्य केन्द्र प्रशासनले केही समय अघि नै बेलौरी नगरपालिकाको कार्यालयलाई पत्राचार गर्दै आकस्मिक विभागका लागि आवश्यक औषधि तथा सर्जिकल सामग्रीहरू तत्काल व्यवस्थापन गरिदिन लिखित अनुरोध गरिसकेको थियो। सामग्रीको अभावले आकस्मिक सेवा प्रत्यक्ष प्रभावित भइसकेको र तत्काल आपूर्ति नगरिए सेवा नै अवरुद्ध हुन सक्ने संवेदनशील अवस्थाबारे सचेत गराइएको थियो।
यस विषयमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीसँग बुझ्दा उनले प्राविधिक कारणले गर्दा खरिद प्रक्रियामा केही ढिलाइ भएको बताएका छन्।
“प्राथमिक स्वास्थ्य केन्द्र आफैँमा एक स्वायत्त निकाय हो। उनीहरूको आफ्नै आम्दानी र खातापाता सञ्चालनमा रहने भएकाले आकस्मिक अवस्थामा आन्तरिक स्रोतबाटै व्यवस्थापन गरेर सेवा सुचारु राख्न केन्द्र प्रमुखलाई भनिसकिएको छ,” प्रमुख प्रशासकीय अधिकृत जोशीले भने, “नगरपालिकाको खाता सञ्चालन प्रक्रियामा रहेकाले खरिद प्रक्रिया केही समय रोकिएको हो। खाता सञ्चालन हुनासाथ खरिद प्रक्रिया अघि बढाएर औषधिको समस्या चाँडै समाधान गर्छौं।”
स्थानीय तह र स्वास्थ्य संस्थाबीचको प्रशासनिक समन्वय अभाव र बजेट सञ्चालनको प्राविधिक उल्झनका कारण विपन्न नागरिकले निःशुल्क पाउनुपर्ने आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्।





