कञ्चनपुर, भदौ २३ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित बेलौरी नगरपालिकाको तौला राना चोकमा ‘जेनजी तथा समर्थक’ को आयोजनामा सहिद दिवसको अवसर पारेर विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जेन्जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा तथा सम्मानमा स्थानीय युवाहरूको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाकर्मी, नागरिक अगुवा, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले चोक परिसरमा सामूहिक रूपमा मैनबत्ती बालेर सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका थिए। कार्यक्रमस्थलमा “जिन्दगी त दियौ, सपना पनि दियौ, देशले माग्यो बलिदान… तिमीहरू गयौ, इतिहास बन्यो !” तथा “उहाँहरूको बलिदान, हाम्रो प्रेरणा, समृद्ध नेपाल” जस्ता मर्मस्पर्शी सन्देश लेखिएका ब्यानर प्रदर्शन गरिएका थिए।
कार्यक्रममा बोल्दै जेनजी तथा समर्थकका सदस्य नरेश पाण्डेले देशमा व्याप्त बेथिति र भ्रष्टाचारविरुद्धको आन्दोलनमा जीवन उत्सर्ग गर्ने ७६ जना सहिदहरूको योगदानको स्मरण गर्नुभयो। उहाँले व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा अपेक्षित सुधार आउन नसकेको गुनासो गर्दै भन्नुभयो, “देशमा सरकारहरू फेरिए, तर सहिदहरूले जुन उद्देश्य र सुशासनका लागि रगत बगाएका थिए, त्यसको पूर्ण अनुभूति अझै हुन सकेको छैन। ती ७६ जना सहिदको बलिदान र आहुतिलाई हामी कुनै पनि हालतमा खेर जान दिने छैनौं।”
कार्यक्रमका प्रमुख वक्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति वीरेन्द्र (बिरु) शाहीले सहिदहरूको त्यागकै जगमा आजको लोकतान्त्रिक अधिकार प्राप्त भएको बताउनुभयो। उहाँले सहिदहरूले देखाएको बाटो र उनीहरूका अधुरा सपना साकार पार्न अबको युवा पुस्ता रचनात्मक र जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। देशमा विधिको शासन, सामाजिक न्याय र समृद्धिका लागि युवा शक्ति एकजुट हुनुको विकल्प नरहेको उहाँको भनाइ थियो।

वात्सल्य विद्या निकेतनका प्रधानाध्यापक लक्ष्मण सिंह दियालले सहिदको बलिदानको महत्त्वलाई भावनात्मक रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “जसरी बाबुआमा सन्तानका लागि आफूलाई मेटाउन तयार हुन्छन्, ठीक त्यसैगरी सहिदहरू समाज र देशको उज्ज्वल भविष्यका लागि रेटिन तयार भएका हुन्। उनीहरूले देशको अँध्यारो हटाउन आफ्नो जीवन दिए, अब बाँचेकाहरूले उनका सपनाहरू बाँड्नुपर्छ।” उहाँले अगाडि थप्नुभयो, “देशका निम्ति जीवन त्याग्नै पर्दैन, प्रिय जिउँदा मान्छेहरू आउनुस् समाज र देशका लागि पनि थोरबहुत बाँच्न थालौं।” यसका साथै प्रअ दियालले हालैको अविरल वर्षा र बाढीपहिरोका कारण ज्यान गुमाएका नागरिकहरूप्रति चिरशान्तिको कामना गर्दै पीडित परिवारजनको शीघ्र स्वास्थ्यलाभ तथा पुनर्स्थापनाका लागि सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलौरी नगर कमिटीका सभापति विष्णु शर्मा न्यौपानेले जेनजी पुस्ताले सामाजिक रूपान्तरणका लागि देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। आफू केवल दलको प्रतिनिधिको रूपमा नभई सचेत नागरिकका रूपमा युवाहरूको हरेक सकारात्मक अभियानमा साथ दिन आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तपाईंहरूले सुरु गर्नुभएको यो अभियानमा हामी पहिलो दिनदेखि सँगै छौं र भोलिका दिनमा पनि सँगै रहनेछौं। कतै हामीले बाटो बिरायौं भने तपाईंहरूले खबरदारी गरेर सही बाटोमा ल्याउनुपर्छ।” उहाँले सहिदहरूले देखेको सुन्दर र समृद्ध नेपालको सपना वर्तमान पुस्ताकै पालामा पूरा हुने विश्वास व्यक्त गर्नुभयो।

कुनै औपचारिकता र दलीय स्वार्थभन्दा माथि उठेर स्थानीय युवाहरूले स्वत स्फूर्त रूपमा तौला राना चोकमा आयोजना गरेको यस कार्यक्रमले समाजमा सकारात्मक तरङ्ग पैदा गरेको छ। सहिदको बलिदानलाई स्मरण गर्दै समाजका हरेक वर्ग, तह र तप्कालाई सुशासन, जवाफदेहिता र राष्ट्रिय एकताको साझा धरातलमा उभ्याउन यस्ता रचनात्मक गतिविधिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय बुद्धिजीवीहरूको ठम्याइ छ। कार्यक्रमको सञ्चालन जेनजी तथा समर्थक सदस्य विष्णु दत्त अवस्थीले गरेका थिए।






