बेलौरी एउटा यस्तो समृद्ध पालिका जहाँ दिउँसै सडकका बत्तीहरु बल्दछन्

मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर

‟म त घरमा अलि अलि मिरमिर बिहान हुनासाथ सबै कोठाकोठामा गएर टक्क टक्क बत्तीको स्वीच अफ गर्दै हिड्छु, कहाँ बत्तीको बिल बढाउने भन्या ?”, यो भनाई थियो बेलौरी नगरपालिकाका एक स्थानीय बासिन्दाको । उनी जस्तै घरभित्रको बिजुलीको महशुल ज्यादा आए तिर्न धौ हुन्छ भनेर बेलौरीका मात्र नभई समग्र देश तथा विदेशका मानिसहरु चिन्ता मान्ने गर्दछन् । तर आफ्नै घरबाहिर डिलैमा रहेको सडकमा अनावश्यक बलिरहेकाे  बत्ती बारे भने कमैलाई चासो हुन्छ ।


‟अब बत्ती नबलेको बेलामा त कहिले बाल्ने हो भनेर उफ्रियौँ, करायौँ, तर अहिले दिउँसै चोकचोकमा बत्ती बलिरहेको देख्दा पनि नदेखे जस्तो गर्ने हामी पनि उस्तै छौँ खास भन्ने हो भने”, बताउछिन् बेलौरी नगरपालिका वडा नं ४ बेलौरी बजारमा बसोबास गर्ने नयाँ श्रेष्ठ ।


नगरपालिकाको वडा नं ४ मा रहेको बेलौरी–कलुवापुर जोड्ने सडक विस्तार तथा ढल र सडक बत्ती लगायतका संरचना जडान गरेसँगै साे सडकका बत्तीहरु अचेल दिउँसै बल्ने गरेका छन् । दिन लामो हुदै गएपछि पनि सडकछेउ जडान गरिएका बत्तीहरु दिउँसो नै बालिने भएको हुँदा एकाधमा केहि स्थानीयकाे भने चासो बढेको छ ।

स्थानीय शक्ति प्रसाद घिमिरेले आफ्नो सामाजिक सञ्जालको फेसबुक अकाउन्टमा दिउँसै सडकका बत्ती बलेको विषयमा जिज्ञासा राख्दै पोष्ट गर्छन् ‟बेलौरी बजारको रोड लाइट दिउँसै बल्नुको कारण के रहेछ ?”

त्यस्तै अर्का स्थानीय सन्तोष पन्तले पनि सामाजिक सञ्जालमा सडक बत्ती आवश्यक समयभन्दा धेरै अगाडिदेखि बालिएकोमा कटाक्ष व्यक्त गर्दै आफ्नो चासो व्यक्त गरेका छन् ।

यस सन्दर्भमा नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रका प्रमुख टंकराज गिरि बताउछन्, ‟यो नगरपालिकालाई हस्तान्तरण गरिसकेको विषय भएको हुनाले यसमा हाम्रो कुनै भूमिका रहदैन” ।

बेलौरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई यसबारे स्पष्ट पार्न गरिएको अनुरोधमा उनी बताउछन् ‟यो अझै पनि ठेकेदारकै मातहतमा छ, उनीहरुले नै सेटिङ्ग गरेर काठमाडौँ गएका छन्, अब उताबाट आएपछि लाईटको सेड्युलमा परिवर्तन गर्छन् होला” ।

केहि दिन अघि मात्रै बेलौरी नगरपालिकाको ६ करोडभन्दा बढि बेरुजु आएको खबर सन्सनी फैलदै गर्दा यता सडकका बत्तीहरुले भने समयमा बल्न र बन्द हुन ठेकेदारलाई एक हप्ता कुर्नपर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ