सुरज श्रेष्ठ, असार १३, बेलौरी। घरेलु तथा साना उद्योग कार्यालय, कञ्चनपुरको आयोजनामा उद्योग वाणिज्य संघ बेलौरीको सभाहलमा शुक्रबार “उद्योग स्थापनाको लागि सरोकारवालाहरु सँग” अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। नयाँ उद्योग स्थापना, दर्ता, नविकरण तथा सञ्चालन प्रक्रियालाई सहजीकरण गर्ने तथा राय सूझाव लिने उद्देश्यले आयोजित सो कार्यक्रममा स्थानीय उद्यमी तथा व्यवसायीहरूलाई कानुनी प्रक्रियाबारे जानकारी गराउनुका साथै सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको थियो।

उद्योग वाणिज्य संघ, बेलौरीका निवर्तमान अध्यक्ष टेक बहादुर साउदको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका महासचिव गोविन्द प्रसाद सापकोटा, उद्योग उपाध्यक्ष विजया लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष महेन्द्र सिंह बुडाल र सचिव वसन्त पुन मगर लगायतका पदाधिकारीहरूको उपस्थिति थियो। त्यसैगरी, कार्यक्रममा बेलौरी नगरपालिकाको उद्यम विकास शाखाका सहजकर्ता दिपा रावत र सोही शाखाका फोकल पर्सन कृष्ण गम्वाको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी अधिकृत राजेन्द्र प्रसाद भट्टले उद्योग दर्ता, नवीकरण, आवश्यक कागजात, राजस्व प्रणाली र उद्योग सम्बन्धी कानुनबारे विस्तृत रूपमा सहजीकरण गर्नुभएको थियो। सहजीकरणपछिको अन्तरक्रिया सत्रमा सहभागी उद्यमीहरूले उद्योग सञ्चालनमा आइपर्ने व्यावहारिक कठिनाइबारे जिज्ञासा राखेका थिए, जसलाई उद्योग अधिकृत हेमन्त बहादुर सिंहले सम्बोधन गर्नुभएको थियो।

प्रमुख अतिथि साउदले यस्ता कार्यक्रमले स्थानीय स्तरमा लगानीको वातावरण बनाउन मद्दत पुग्ने बताउनुभयो। बेलौरी उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष अशोक श्रेष्ठले पछिल्लो समय घरेलु तथा साना उद्योग कार्यालयको सेवा शैलीमा उल्लेख्य सुधार आएको भन्दै छिटोछरितो सेवा प्रवाहका लागि धन्यवाद प्रकट गर्नुभयो।

बेलौरी र पुनर्वास क्षेत्रका उद्यमीहरूको सहभागिता रहेको कार्यक्रम निकै प्रभावकारी भएको सहभागीहरूले प्रतिक्रिया दिए। सरकारी निकाय, स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा आयोजित यस्ता कार्यक्रमले स्थानीय औद्योगिक वातावरणलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।





