मीरा श्रेष्ठ,
माध्यमिक शिक्षा परिक्षा अर्थात् एसईई दिनका लागि अब विद्यार्थीको उमेर १४ वर्ष पुरा हुनपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ मा एसईई दिने विद्यार्थीको हकमा यो नियम लागू हुने गरि निर्णय लिएको हो ।
यस अनुरुप अब २०६८ चैत मसान्त सम्मको जन्ममिती भएका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने छन् र उमेर नपुगेको हकमा कक्षा १० मा रजिष्ट्रेशन फाराम भर्नका लागि विद्यार्थीले २०६८ चैत मसान्तसम्मको जन्म मिति उल्लेख गरेर भर्न पाइने बोर्डले जनाएको छ । यसका लागि संसदमा रहेको शिक्षा सम्बन्धि कानूनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक पारित भएपछि एक पटकका लागि जन्म दर्ता सच्याउन सकिनेछ र सो समयमा रजिष्ट्रेशन फारामअनुसार जन्मदर्ताको मिति सच्याउन सकिने बताइएको छ ।

यसअघि पनि १४ वर्ष उमेर पुरा भएका विद्यार्थीले मात्र एसईईको परिक्षा दिन पाउने प्रावधान थियो तर २०७८ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो बाध्यकारी नियमलाई खारेज गरेको थियो । वि.सं २०७८ चैत २ को मन्त्रिस्तरीय निणर्यबाट एसईई दिने विद्यार्थी १४ वर्ष उमेर पुग्नुपर्ने थ्रेसहोल्ड खारेज गरेको थियो तर पुन : २०८१ मा आएर बोर्डले विद्यार्थीको उमेर १४ वर्ष पुरा भएको हुनपर्ने किटान गरेको छ ।





