डडेल्धुरा — अखिल नेपाल महिला संघ (क्रान्तिकारी) डडेल्धुराद्वारा आयोजित हरितालिका तीज तथा गौरा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, वन तथा वातावरण राज्यमन्त्री समेत रहेकी नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा प्रमुख सचेतक गीता देवी मालले सरकारले दोस्रो विवाहलाई कानुनी मान्यता दिने प्रयासविरुद्ध कडा आपत्ति जनाएकी छन्।
जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रूपमा सहभागी मालले सो निर्णयलाई समाजविरोधी र महिलाको अधिकारविरुद्धको कदम भन्दै विरोध प्रकट गरिन्।उनले भनिन्, “यस्ता नीतिहरू महिलाको अधिकार र समानताको लागि खतरा हुन्छन्, त्यसैले सबै सचेत नागरिक तथा महिलाहरू एकजुट भएर प्रतिवाद गर्नुपर्छ।”

उनले तीजलाई सभ्य, भव्य र मौलिकतामा आधारित पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिँदै महिला हिंसा तथा घरेलु हिंसा विरुद्ध सचेतना फैलाउने गीत तथा सन्देशलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिन्।कार्यक्रममा संघका नेतृहरूले तीजलाई केवल मनोरञ्जन वा भड्किलो प्रदर्शनमा सीमित नगरी महिला स्वतन्त्रता, समानता र सामाजिक न्यायसँग जोड्नुपर्ने धारणा राखे। उनीहरूले तीजलाई लैंगिक हिंसा, आर्थिक शोषण र सामाजिक विभेदविरुद्धको विद्रोहको पर्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।
स्थानीय महिला तथा युवतीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा मौलिक लोकसंस्कृति झल्काउने नृत्य र गीत प्रस्तुत गरिएका थिए। सहभागीहरूले तीजलाई महिलाको अधिकार रक्षा, दलित तथा श्रमिक महिलाको आवाज बुलन्द गर्ने र सामाजिक रूपान्तरणको प्रेरणा दिने पर्व बनाउन निरन्तर संघर्ष गर्ने अठोट व्यक्त गरे।कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ (क्रान्तिकारी) डडेल्धुराकी जिल्ला अध्यक्ष कलावती कुमारी भाणले गरेकी थिइन् भने नवदुर्गा गाउँपालिका–३ का अध्यक्ष भक्त कठायतले शुभकामना मन्तव्य राखेका थिए।





