बेलौरीमा रामलीला मञ्चन सुरु, सांस्कृतिक समितिको दोस्रो आयोजना

बेलौरी, कार्तिक १५ । बेलौरी सांस्कृतिक तथा रामलीला समितिद्वारा आयोजित दोस्रो रामलीला मञ्चन कार्यक्रम शनिबारदेखि भव्यताका साथ सुरु भएको छ। बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले एक समारोहका बिच दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।

समितिका संयोजक दिनेश कुँवरको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख चौधरीले अहंकार र घमण्डको सधैं हार हुने बताउनुभयो। उहाँले रामलीला जस्ता सांस्कृतिक कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै, यो कार्यक्रम शान्तिपूर्ण र आपसी सद्भाव कायम राख्दै सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथि तथा बेलौरी नगरपालिकाका उप-प्रमुख जोगराम चौधरीले रामलीलाले सत्यको जीतको शाश्वत सन्देश दिने बताउनुभयो। उहाँले भन्नुभयो, “भगवान रामले कसरी रावणको असत्य शक्तिलाई परास्त गर्नुभयो भन्ने कुराबाट हामी सबैले प्रेरणा लिनुपर्छ, सत्यको सधैं जीत हुन्छ।”

त्यस्तै, कार्यक्रमका निर्देशक डाक्टर भूपेन्द्र बिष्टले स्वागत मन्तव्य राख्दै रामलीला मञ्चनको उद्देश्य र तयारीबारे जानकारी गराउनुभएको थियो।कार्यक्रमको प्रारम्भमा आरती तथा पण्डित भीम राज पन्तद्वारा मंगला उच्चारण गरिएको थियो। पण्डितहरू गंगाप्रसाद रिजाल, कृष्णप्रसाद पाण्डे र गणेश जोशीद्वारा स्वस्तिक बाचन गरिएको थियो।

समितिका सचिव रामेश्वर न्यौपानेले सञ्चालन गर्नुभएको उक्त उद्घाटन समारोहमा बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झपि ओझा, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ