कञ्चनपुर।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनक सिंह धामीले बालबालिकाको आधारभूत अधिकार, संरक्षण र न्याय सुनिश्चित गर्न नयाँ कानुनी संरचनासँगै त्यसको निष्पक्ष तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताउनुभएको छ। संघीय संसद्मा ‘बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद धामीले बालबालिका समाज र राष्ट्रको भविष्य भएकाले राज्यका नीति तथा कार्यक्रममा उनीहरूको सर्वोत्तम हित पहिलो प्राथमिकतामा पर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
संसद्को रोस्ट्रमबाट सम्बोधन गर्दै उहाँले नेपालको संविधानको भाग चार अन्तर्गत धारा एकाउन्नमा उल्लिखित बालबालिकाको सर्वोत्तम हितको संवैधानिक प्रत्याभूतिलाई स्मरण गराउनुभयो। समाजको बदलिँदो परिवेश, न्यायिक अभ्यास र व्यवहारिक आवश्यकताका आधारमा प्रस्तुत संशोधन विधेयक समयसापेक्ष रहेको उल्लेख गर्दै उहाँले बाल सुधार गृहभित्र कानुनी अनुगमन, दण्ड सजाय तथा क्षतिपूर्तिसम्बन्धी विषयमा प्रस्तावित सुधार सकारात्मक कदम भएको बताउनुभयो।
विधेयकमा बालबालिकाले आर्थिक अभावका कारण क्षतिपूर्ति तिर्न नसक्दा थप सुधार गृहमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्न बालकोषबाट शोधभर्ना गर्ने व्यवस्था गरिनु न्यायोचित रहेको सांसद धामीको भनाइ थियो। यसैगरी संघीयताको मूल मर्म अनुसार प्रदेश तथा स्थानीय तहसम्म बाल अधिकार समिति विस्तार गर्ने, बाल अदालतको प्रभावकारिता बढाउने तथा आमाको नामबाट निर्बाध जन्मदर्ता गराउन पाउने कानुनी प्रावधानले सीमान्तकृत र जोखिममा रहेका बालबालिकालाई कानुनी पहिचान दिलाउन मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो।
अन्तरलिङ्गी बालबालिकाको उपचार तथा लिङ्ग निर्धारणसम्बन्धी कानुनी प्रावधानबारे टिप्पणी गर्दै उहाँले स्वास्थ्य जोखिमका प्राविधिक आधार र मापदण्ड ऐनमै स्पष्ट किटान गरिनुपर्ने सुझाव दिनुभयो। ऐनका प्रावधानहरू व्याख्यामा अस्पष्ट हुँदा भोलि व्यवहारिक जटिलता आउन सक्ने भएकाले त्यसतर्फ विधायिका सतर्क रहनुपर्ने उहाँको तर्क थियो।
परम्परागत पारिवारिक दण्ड पद्धति र आधुनिक बालमनोविज्ञानबीचको खाडल पुर्न कानुनी सुधारसँगै व्यापक सामाजिक सचेतना आवश्यक रहेको सांसद धामीले स्पष्ट पार्नुभयो। कानुन निर्माण मात्रै समस्याको समाधान नभएको भन्दै उहाँले समग्र बाल न्याय प्रणालीलाई बालमैत्री र पारदर्शी बनाउन सबै सरोकारवाला निकायलाई आग्रह गर्दै प्रस्तुत विधेयकप्रति आफ्नो दृढ समर्थन रहेको घोषणा गर्नुभयो।





