धनगढी, असोज २ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को पूर्वसन्ध्यामा सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा आज धनगढीमा बृहत् सरसफाइ तथा स्वच्छता अभियान सम्पन्न भएको छ। स्वच्छ, सफा र हरियालीयुक्त सरकारी कार्यालय परिसर निर्माण गर्ने तथा सामाजिक कार्यमा युवा र जनसहभागितालाई प्रोत्साहन गर्ने प्रमुख उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

भौतिक पूर्वाधार विकास मन्त्रालय परिसर, धनगढी तथा आसपासका सरकारी कार्यालय परिसरमा आयोजित सो अभियानमा करिब तीन सयभन्दा बढी युवा, कर्मचारी, राजनीतिक दलका नेता तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री ओम विक्रम भाट, भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी कुँवर, संविधानसभा सदस्य वीरभान चौधरी तथा नेतृ मञ्जु बम लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अभियानका क्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय परिसर, अर्थ मन्त्रालय परिसर, मुख्यमन्त्री निवास क्षेत्र तथा अन्य आसपासका सरकारी कार्यालय एवं सार्वजनिक परिसरहरूमा सरसफाइ गरिएको छ। सहभागितामूलक यस कार्यक्रमले नागरिकहरूमा सार्वजनिक सम्पत्ति, सरसफाइ र पर्यावरणप्रतिको उत्तरदायित्वबोध गराएको आयोजकले जनाएको छ।
सरसफाइ कार्यक्रमपछि आयोजित संक्षिप्त कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै भौतिक पूर्वाधार विकास मन्त्री ओम विक्रम भाटले स्वच्छ र सफा वातावरण निर्माण गर्नु हामी सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले युवा तथा जनसहभागितामा सञ्चालित यस प्रकारको अभियानले आगामी दिनमा सुदूरपश्चिम प्रदेशको समग्र विकास तथा निर्माण कार्यमा थप सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, मन्त्रालय परिसरलाई व्यवस्थित, स्वच्छ तथा वातावरणमैत्री बनाउन सरसफाइ र हरियाली प्रवर्द्धनका कार्यहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले प्रष्ट पार्नुभयो।





