धनगढी। नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि विरोध प्रदर्शन भएको छ। ‘जेनजी’ (Gen-Z) समूहका युवाहरूले बुधबार बिहान धनगढीको मुख्य बजार क्षेत्रमा भेला भई बस्नेतविरुद्ध प्लेकार्डसहित नाराबाजी गरेका हुन्।
२३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको बलमा एमाले नेतृत्वको सरकार विस्थापित भएयता नेता बस्नेत र आन्दोलनरत युवापुस्ताबीचको टकराव उत्कर्षमा पुगेको छ। सरकार परिवर्तनपछि बस्नेतले सार्वजनिक मञ्चहरूबाटै युवा आन्दोलनप्रति आक्रामक र आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन् भने प्रत्युत्तरमा युवाहरूले पनि देशका विभिन्न स्थानमा उनको निरन्तर प्रतिकार गरिरहेका छन्। धनगढीको यो प्रदर्शन बस्नेतविरुद्ध भइरहेको देशव्यापी विरोधकै निरन्तरता हो।
महेश बस्नेत सहभागी हुने कार्यक्रमहरूमा पछिल्लो समय सुरक्षा चुनौती थपिएको छ। गत मंगलबार मात्रै कर्णाली प्रदेशको सुर्खेतमा पनि बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै युवाहरूले विरोध जनाएका थिए। त्यसअघि ७ मंसिरमा इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बस्नेत सवार गाडीमा दुई युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए।
यस्तै, गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित एक कार्यक्रममा बस्नेत सहभागी हुने खबर बाहिरिएपछि युवाहरूले कडा विरोध जनाएका थिए, जसका कारण सिमरा क्षेत्र दुई दिनसम्म तनावग्रस्त बनेको थियो। एकपछि अर्को सहरमा युवाहरूको निसानामा पर्न थालेपछि बस्नेतको सार्वजनिक आवागमन र कार्यक्रमहरूमा स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ।





