बेलौरीमा ‘मेयर कप’ विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु; लेदर बलबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य

कञ्चन आवाज संवाददाता बेलौरी (कञ्चनपुर), १० माघ । बेलौरी नगरपालिकामा ‘बेलौरी नगरपालिका विद्यालयस्तरीय मेयर कप टी–२० क्रिकेट प्रतियोगिता २०८२’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । बेलौरी नगर खेलकुद समितिको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको एक समारोह बिच बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले बेलौरी नगरपालिकाले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । सीमित स्रोतसाधन र बजेट अभावका बाबजुद पनि नगरपालिकाले वडादेखि नगरसम्मका खेल गतिविधिमा करिब ३० देखि ३५ लाख रुपैयाँ विनियोजन गरी खेल क्षेत्रको विकासमा टेवा पुर्‍याइरहेको उहाँको भनाइ थियो । क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित खेलको संज्ञा दिँदै प्रमुख चौधरीले यस प्रतियोगिताबाट अनुशासित र सक्षम खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । “हामीले नयाँ टिम निर्माण र खेलाडी उत्पादनमा जोड दिएका छौँ, विद्यार्थी भाइबहिनीहरूले खेललाई अनुशासित र मर्यादित रूपमा लिनुहुनेछ भन्ने अपेक्षा छ,” नगर प्रमुख चौधरीले भन्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवं बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले प्रतियोगिता नितान्त विद्यालयस्तरीय भएको र यसमा नगरपालिकाभित्रका ९ वटा विद्यालयले सहभागिता जनाएको जानकारी दिनुभयो । उहाँले खेलाडीहरूको वृत्ति विकासका लागि टेनिस बलको सट्टा लेदर बलकै प्रयोग अनिवार्य गरिएको स्पष्ट पार्नुभयो । “बाहिर जिल्ला वा अन्य ठूला प्रतियोगितामा जाँदा खेलाडीले लेदर बलमै खेल्नुपर्ने हुन्छ, यहाँ टेनिस बलले खेलाउँदा उनीहरूको सीप विकासमा बाधा पुग्ने देखियो । त्यसैले सिक्ने थलोबाटै सही अभ्यास होस् भनेर हामीले लेदर बलको व्यवस्था गरेका हौँ,” अध्यक्ष न्यौपानेले भन्नुभयो ।

प्रतियोगिताको पुरस्कार राशितर्फ प्रथम हुने टिमलाई नगद रु ३० हजार, द्वितीयलाई २० हजार र सेमिफाइनलमा पुग्ने दुई टिम (तृतीय) लाई जनही ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । अध्यक्ष न्यौपानेले खेल मैदानको आकार अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभए पनि उपलब्ध स्रोत र ‘फिल्ड’ लाई व्यवस्थापन गरेर प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । साथै, विद्यालयबाहिर रहेका अन्य प्रतिभावान खेलाडीहरूका लागि यही माघ १२ गते बिहान ९ बजे खुला छनोट प्रतियोगिता राखिएको हुँदा इच्छुक खेलाडीहरूलाई उपस्थितिका लागि उहाँले आह्वान समेत गर्नुभएको छ ।

उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवं बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नगरभित्रका विद्यालयहरूलाई खेलकुदमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । उदघाटनमा स्वागत मन्तव्य नगर खेलकुद समितका सदस्य भुपिन बहादुर शाही ले राख्नुभएको थियो भने सञ्चालन सदस्य तेज बहादुर चन्दले गर्नुभएको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, विद्यार्थी, खेलप्रेमी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा महेश बोहरा, बिशाल बि.क. र दिपेन्द्र प्रसाद उपाध्यायले  निर्णायकको भूमिका निर्वाह गरिरहनुभएको छ । खेलकुद समितिका अनुसार निकट भविष्यमै ब्याडमिन्टन लगायतका अन्य खेलहरू पनि सञ्चालन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ