बेलौरी, कञ्चनपुर।
सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र पुनर्वासबाट अवैध रूपमा भन्सार छली भारतबाट नेपालतर्फ तोरी तस्करी गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। पुनर्वास नगरपालिका वडा नम्बर ८ कंकड सीमा इलाकामा आज दिउँसो खटिएको सशस्त्र प्रहरीको टोलीले अवैध तोरी, गोरु गाडा र ओसारपसारमा संलग्न स्थानीय व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासका सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको १३ जनाको सीमा पैदल गस्ती टोलीले कंकड क्षेत्रमा विशेष निगरानी गर्ने क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा उक्त सामग्री फेला पारेको हो। पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नम्बर ८ कंकड बस्ने ४२ वर्षीय रामकृष्ण राना रहेका छन्।
प्रहरीका अनुसार रानाले गोरु गाडामा लोड गरी भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवस्थामा १२ क्विन्टल तोरी बरामद गरिएको हो। बरामद गरिएको तोरी, गोरु र गाडा सहितको कुल मूल्याङ्कन दुई लाख बीस हजार रुपैयाँ कायम गरिएको छ। पक्राउ परेका राना र बरामद गरिएका सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।





