बेलौरी, कञ्चनपुर ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ३ दैजी खण्डमा आज दिउँसो एक विद्युतीय सवारी (ईभी) हायस अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ज ४९६ नम्बरको हायस गुडिरहेकै अवस्थामा अचानक सडक छेउको नालामा पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो साढे तीन बजेको समयमा भएको उक्त दुर्घटना लगत्तै प्रहरी चौकी सुडाबाट खटिएको विशेष टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो । हायसमा चालकसहित जम्मा १७ जना सवार रहेकोमा घाइते भएका १३ जनालाई तत्काल उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पठाइएको छ ।
दुर्घटनामा परि घाइते हुनेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका ९ का ४३ वर्षीय पुष्कर राज गिरी, बेदकोट नगरपालिका १० का २० वर्षीय जीवन सिंह कडाल र कैलालीको टीकापुर नगरपालिका ९ की ४५ वर्षीया राधा देवी शाह रहनुभएको छ । उहाँहरूको छाति, कम्मर र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका ५ की २५ वर्षीया सम्झना सिंह, वडा नम्बर ४ की ६१ वर्षीया सरस्वती देवी कुँवर, १७ वर्षीया अंशिका कुँवर, वडा नम्बर ६ की ५५ वर्षीया विष्णु सिंह र १६ वर्षीया पुष्पा बोहरा पनि दुर्घटनामा घाइते हुनुभएको छ । घाइते हुने अन्य यात्रुहरूमा दार्चुला महाकाली नगरपालिका १ का ६० वर्षीय गजेन्द्र सिंह कुँवर, ३२ वर्षीया सुमित्रा कुँवर, डडेल्धुरा नवदुर्गा गाउँपालिका २ की ५५ वर्षीया ईश्वरी देवी भुल, २२ वर्षीय सुनील भुल र अजयमेरु गाउँपालिका ६ का २८ वर्षीय पुष्प राज पन्त रहनुभएको छ । उहाँहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले हायस चालक कञ्चनपुर बेदकोट नगरपालिका ९ सुन्दरपुर बस्ने २८ वर्षीय हेम जोशीलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान सुरु गरेको छ । दुर्घटनाग्रस्त सवारी साधन सुरक्षित रूपमा घटनास्थलमै राखिएको र राजमार्गमा यातायात सञ्चालनमा कुनै अवरोध नपुगेको प्रहरीले जनाएको छ ।





