कञ्चनपुरको बेलौरीमा भन्सार छलीका सामग्रीसहित मोटरसाइकल सशस्त्र प्रहरीको नियन्त्रणमा

बेलौरी, कञ्चनपुर।

सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरको बेलौरी नगरपालिकास्थित सीमा क्षेत्रबाट करिब पौने दुई लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले बुधबार बिहान ती सामग्रीहरू नियन्त्रणमा लिएको हो।

बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित नकैया सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर बेलौरीबाट खटिएको मोबाइल गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका सामग्री फेला पारेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतको कमाण्डमा खटिएको सात जनाको टोलीले बिहान ५ बजेको समयमा उक्त बरामद गरेको जानकारी प्राप्त भएको छ।

बरामद गरिएका सामग्रीहरूमा एक थान नेपाली नम्बर प्लेटको मोटरसाइकल, १२० लिटर पेय पदार्थ र १०० लिटर डिजेल रहेका छन्। सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका ती सबै सामग्रीको कूल बजार मूल्य करिब १ लाख ८५ हजार ५०० रुपैयाँ बराबर रहेको छ। बरामद गरिएका सामग्री र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ