कञ्चनपुर ।
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ पारिफाटास्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। वैशाख २३ गते साँझ भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्थानीय चालक मिनबहादुर जागरीको उपचारका क्रममा अस्पतालमा निधन भएको जानकारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार साँझ करिब ६ बजेको समयमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको म २ प ५०५५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ६ प ५९१३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोली साँझ करिब साढे ६ बजे घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो।
दुर्घटनामा म २ प ५०५५ नम्बरको मोटरसाइकलका चालक शुक्लाफाँटा नगरपालिका ८ पारिफाटाका कम्मानसिंह ठगुन्नाको टाउको र दायाँ हातमा चोट लागेको छ। त्यसैगरी, से ६ प ५९१३ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँका मिनबहादुर जागरी र मोटरसाइकलको पछाडि सवार मङ्गल महराको टाउकोमा गम्भीर चोट लागेको थियो। दुर्घटनालगत्तै घाइते तीनै जनालाई प्राथमिक उद्धारपछि थप उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।





