बेलौरी, कञ्चनपुर
कञ्चनपुर जिल्लामा सञ्चालित डेन्टल क्लिनिक, पोलिक्लिनिक तथा विशेषज्ञ क्लिनिकहरूलाई स्वास्थ्य कार्यालय कञ्चनपुरले दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न सात दिने अल्टिमेटम दिएको छ। मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूलाई कानुनी दायरामा ल्याउने र नियमन गर्ने उद्देश्यले कार्यालयले यस्तो कडा कदम चालेको हो।
स्वास्थ्य कार्यालय कञ्चनपुरले पछिल्लो समय जिल्लाभरि रहेका विभिन्न स्वास्थ्य क्लिनिकहरूको पटकपटक स्थलगत अनुगमन गर्दा धेरैजसो संस्थाहरूले निर्देशिका बमोजिमको मापदण्ड पूरा नगरेको पाइएको जनाएको छ। कार्यालयका प्रमुख दिपेन्द्र सिंह रावलका अनुसार अनुगमनका क्रममा दिइएको सुझावलाई बेवास्ता गर्दै कतिपय क्लिनिकहरू अझै पनि बिना दर्ता वा नवीकरण सञ्चालन भइरहेका छन्। यद्यपि केही क्लिनिकहरूले भने कार्यालयको निर्देशन बमोजिम प्रक्रिया पूरा गरी इजाजत र नवीकरण लिइसकेको बताइएको छ।
नयाँ खुलेका तर दर्ता नभएका, म्याद सकिएर पनि नवीकरण नगरिएका र निर्देशिका बमोजिम भौतिक तथा प्राविधिक मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सम्पूर्ण क्लिनिकहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अनिवार्य रूपमा प्रक्रियामा आउन कार्यालयले कडा निर्देशन दिएको छ। तोकिएको समयसीमाभित्र मापदण्ड पूरा गरी दर्ता तथा नवीकरण प्रक्रियामा नआउने स्वास्थ्य संस्थाहरूलाई नियम अनुसार कडा कारबाही गरिने चेतावनी समेत कार्यालयले दिएको छ।






