कञ्चनपुरको पुनर्वास सीमा क्षेत्रबाट ५४ हजार बराबरको अवैध सुर्तीजन्य पदार्थ बरामद

कञ्चनपुर ।

कञ्चनपुर जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वास नगरपालिका अन्तर्गत पर्ने सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले भारतबाट अवैध रुपमा भित्र्याइँदै गरेको सुर्तीजन्य पदार्थ बरामद गरेको छ। बिहीबार बिहान करिब ११ बजेको समयमा नेपाल भारत सीमा क्षेत्रबाट अन्दाजी ५४ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बिओपी) आँपतालबाट खटिएको सीमा पैदल गस्ती टोलीले उक्त अवैध सामग्री नियन्त्रणमा लिएको हो। पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित सीमा इलाकाको ‘घ’ गाउँबाट नेपालतर्फ लुकाएर ल्याउँदै गरेको अवस्थामा ती सामान फेला परेका थिए। खुला सीमाको फाइदा उठाउँदै व्यापारीहरूले राजस्व छली गर्ने उद्देश्यले लुकिछिपी अवैध ओसारपसार गर्ने गरेका छन्।

बिओपी आँपतालका इन्चार्ज तथा सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहराका अनुसार, उहाँकै कमाण्डमा खटिएको ५ जनाको गस्ती टोलीले नियमित निगरानी गर्ने क्रममा भन्सार छली ल्याइएका ती सुर्तीजन्य वस्तुहरू बरामद गरेको हो। सीमा नाकामा हुने अवैध तस्करी, राजस्व चुहावट र आपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले आफ्नो गस्तीलाई थप चुस्त र प्रभावकारी बनाएको सशस्त्र प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभएको छ।

बरामद गरिएका ५४ हजार मूल्य बराबरका सुर्तीजन्य सामानहरू हाल बिओपी आँपतालमै राखिएको छ। उक्त अवैध सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ