सशस्त्र प्रहरीद्वारा कञ्चनपुरको सीमा क्षेत्रबाट डेढ लाख बढीको अवैध सामान बरामद

बेलौरी, २४ वैशाख ।

कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। भारतबाट भन्सार छली चोरीपैठारी गरी नेपाल भित्र्याइएका करिब १ लाख ६१ हजार ५ सय रुपैयाँ बराबरको लत्ताकपडा, सुर्तीजन्य पदार्थ र अन्य सामग्रीहरू सशस्त्र प्रहरीका विभिन्न टोलीले नियन्त्रणमा लिएका हुन्।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बेलौरीका प्रमुख योग्य बस्नेतका अनुसार वैशाख २३ गते राति १० बजेको समयमा बीओपी डोके बजारबाट सशस्त्र प्रहरी निरीक्षक हरिबहादुर बि.क.को कमाण्डमा खटिएको ५ जनाको पैदल गस्ती टोलीले पुनर्वास नगरपालिका ११ स्थित डोके बजार सीमा इलाकाबाट अन्दाजी ९७ हजार रुपैयाँ बराबरको बेवारिसे लत्ताकपडा बरामद गरेको छ। बरामद गरिएको उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी, वैशाख २४ गते बिहान ११ बजेको समयमा बीओपी आँपतालबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहराको नेतृत्वमा खटिएको टोलीले पुनर्वास नगरपालिका ४ स्थित “घ” गाउँ सीमा इलाकाबाट ५४ हजार रुपैयाँ बराबरको अवैध सुर्तीजन्य सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएको गुल्म प्रमुख बस्नेतले जानकारी दिनुभयो।

बरामद गरिएका सामग्रीसँगै सशस्त्र प्रहरीले अवैध रूपमा भित्र्याइएका स्वास्थ्यका लागि हानिकारक वस्तुहरू समेत नष्ट गरेको छ। बीओपी दोधाबाट खटिएको टोलीले १२० लिटर अवैध पेय पदार्थ बरामद गरी नष्ट गरेको छ भने बीओपी थापाचोकको टोलीले १० हजार ५ सय रुपैयाँ बराबरको ३० केजी ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ