बेलौरी, कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइँदै गरेको अवस्थामा बरामद गरेका बोइलर कुखुरा र चिसो पेय पदार्थ स्थानीयको रोहबरमा नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) आँपतालबाट खटिएको गस्ती टोलीले विभिन्न समयमा बरामद गरेका ३२ हजार एक सय रुपैयाँ बराबरका ती सामग्रीहरु शुक्रबार बिहान नष्ट गरेको हो। बीओपी आँपतालका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहराको कमान्डमा खटिएको टोलीले शुक्रबार बिहान ८ बजे सीमा इलाकाबाट २२ हजार पाँच सय रुपैयाँ मूल्य बराबरको ७५ किलो बोइलर कुखुरा नियन्त्रणमा लिएको थियो।
यसैगरी, बिहीबार साँझ साढे सात बजेको समयमा सोही टोलीले ९ हजार छ सय रुपैयाँ बराबरको ९६ लिटर चिसो पेय पदार्थ पनि बरामद गरेको थियो। अवैध रुपमा भन्सार छली ल्याइएका यी दुवै सामग्रीहरु शुक्रबार बिहान साढे आठ बजे स्थानीय बासिन्दा तथा सरोकारवालाहरुको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभयो।





