बेलौरीमा ट्राफिक सचेतना अभियान तीव्र: दुर्घटना न्यूनीकरणका लागि चोकचोकमा सचेतनामूलक बोर्ड जडान

बेलौरी (कञ्चनपुर)

कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित बेलौरी नगरपालिकामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमको पूर्ण रूपमा पालना गराउन अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलौरीले सचेतनामूलक अभियानलाई तीव्रता दिएको छ। सडक सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले स्थानीय जनप्रतिनिधि र समुदायको सक्रिय सहभागितामा बेलौरीका विभिन्न चोक र बढी दुर्घटना हुने जोखिमयुक्त क्षेत्रहरूमा सचेतनामूलक तथा सूचनामूलक होर्डिङ बोर्डहरू जडान गरेको छ।

 

अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलौरीका इन्चार्ज एवं ट्राफिक प्रहरी वरिष्ठ हवलदार खेमराज भट्टका अनुसार बेलौरीका विभिन्न ठाउँमा सर्वसाधारण र सवारी चालकलाई सचेत गराउने मुख्य उद्देश्यसहित यस्ता सन्देशमूलक बोर्डहरू राखिएका हुन्। बेलौरीको भिमदत्त चोक, तौला राना चोक लगायतका मुख्य बजार क्षेत्रका पोलहरूमा ट्राफिक नियम सबैका लागि समान रहेको र ट्राफिक अनुशासन पालना गर्न आह्वान गरिएका सन्देशहरू टाँगिएका छन्। यसैगरी दुई पाङ्ग्रे सवारी साधन चलाउँदा अनिवार्य रूपमा हेलमेटको प्रयोग गर्न अनुरोध गर्दै टाउको, कान, ओठ, मुख, आँखा र दाँतको सुरक्षाका लागि हेलमेट महत्त्वपूर्ण रहेको कुरालाई अङ्ग्रेजी अक्षरको अर्थ खुलाएर प्रस्ट पारिएको छ।

बेलौरी नगरपालिका वडा नम्बर ४ को कार्यालयसँगको प्रत्यक्ष समन्वयमा ट्राफिक प्रहरीले बढी दुर्घटना हुन सक्ने सम्भावित सडक खण्डहरूमा सावधानी अपनाउन र सवारी साधन बिस्तारै चलाउन आग्रह गर्दै चेतावनीमूलक ठूला बोर्डहरू समेत स्थापना गरेको छ। सडक किनारमा खाल्डो खनेर सुरक्षित रूपमा बोर्ड गाड्ने कार्यमा ट्राफिक प्रहरीसँगै स्थानीय बासिन्दा र नागरिक अगुवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। समुदायस्तरबाटै ट्राफिक नियमको पालना गराउन र सभ्य नागरिकको परिचय दिन गरिएको यो सहकार्यले सडक अनुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ