बेलौरी, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति स्थानीय बासिन्दा तथा विभिन्न पेसा र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरुको आकर्षण बढ्न थालेको छ। आइतबार बेलौरी नगर कमिटीले आयोजना गरेको एक सामान्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रमका बीच बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसहित नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी नौ जना स्थानीय अगुवाहरु रास्वपामा प्रवेश गरेका छन्।
रास्वपा बेलौरी नगर कमिटीका सभापति विष्णु शर्मा न्यौपानेका अनुसार पार्टीको नीति, विचार र वैकल्पिक राजनीतिको एजेन्डाबाट प्रभावित भएर स्वतस्फूर्त रुपमा नागरिकहरु पार्टीमा जोडिन आएका हुन्। कुनै पूर्व निर्धारित औपचारिक र ठूलो कार्यक्रम नभए पनि स्थानीयको चाहना र उत्साहलाई मध्यनजर गर्दै तत्कालै अफलाइन सदस्यता प्रदान गरी उनीहरुलाई पार्टीमा स्वागत गरिएको सभापति न्यौपानेले कञ्चन आवाजलाई जानकारी दिनुभयो।
यसरी नयाँ सदस्यता लिएर पार्टी प्रवेश गर्नेहरुमा समाजका प्रतिष्ठित व्यक्तिहरुसमेत रहेका छन्। बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष टेक बहादुर साउदले रास्वपाको सदस्यता ग्रहण गर्नुभएको छ। यसैगरी, लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा आबद्ध रहनुभएका केशव प्रसाद जोशी र पदम सिंह धामी पनि रास्वपामा जोडिनुभएको छ। त्यस्तै, विगतमा नेकपा एमालेसँग आबद्ध रहनुभएका सहवीर महत्तरा उहाँकी धर्मपत्नी धनेश्वरी विष्ट महत्तराले पनि पुरानो राजनीतिक यात्रा परित्याग गरी रास्वपाको बाटो रोज्नुभएको छ। यसका अतिरिक्त बेलौरी नगरपालिका वडा नम्बर ६ का अन्य चार जना स्थानीयहरुले पनि आजै रास्वपाको सदस्यता ग्रहण गरेको नगर कमिटीले जनाएको छ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र विशेषगरी बेलौरी जस्ता सीमावर्ती तथा विकासका हिसाबले सम्भावना बोकेका क्षेत्रमा रास्वपाले आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्रता दिइरहेको छ। स्थापित राजनीतिक दलका पुराना कार्यकर्ता र व्यावसायिक नेतृत्वले समेत वैकल्पिक शक्तिका रुपमा रास्वपालाई रोज्नुले आगामी दिनमा स्थानीय स्तरको राजनीतिक समीकरणमा नयाँ आयाम थप्ने र नागरिकका आधारभूत समस्या समाधानमा परम्परागत दलहरुलाई थप जबाफदेही बन्न दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।





