कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको करिब डेढ लाख रुपैयाँ बराबरको प्रतिबन्धित सुर्तीजन्य पदार्थ र मोटरसाइकल नियन्त्रणमा लिएको छ।
मङ्गलबार बिहान करिब नौ बजेको समयमा पुनर्वास नगरपालिका वडा नम्बर ४ ‘घ’ गाउँ इलाकाबाट उक्त परिमाणको सामान बरामद गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) आँपतालबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहराको कमान्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामग्री फेला पारेको थियो।
सशस्त्र प्रहरी निरीक्षक बोहराका अनुसार बरामद गरिएका सामग्रीहरूमा करिब पचास हजार रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित सुर्तीजन्य वस्तु रहेको छ। त्यसैगरी, सामान ओसारपसारमा प्रयोग गरिएको से ३ प ६६३४ नम्बरको मोटरसाइकललाई पनि टोलीले नियन्त्रणमा लिएको छ, जसको अनुमानित बजार मूल्य एक लाख रुपैयाँ कायम गरिएको छ।
नियन्त्रणमा लिइएका सुर्तीजन्य पदार्थ र मोटरसाइकलसहित कुल एक लाख पचास हजार रुपैयाँ बराबरको सामग्रीलाई थप कानुनी कारबाही तथा राजश्व सङ्कलनका लागि त्रिनगर भन्सार कार्यालय धनगढीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।





