बेलौरीमा अटो चालकहरूलाई ट्राफिक सचेतना, नियम पालना गर्न प्रहरीको आग्रह

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुरको बेलौरीमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गराउने उद्देश्यले स्थानीय अटो रिक्सा चालकहरूका लागि विशेष सचेतना कार्यक्रम आयोजना गरिएको छ। अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलौरीको सक्रियतामा बेलौरी यातायात प्रालिमा आबद्ध चालकहरूलाई सवारी नियम र सुरक्षाका उपायबारे अभिमुखीकरण गरिएको हो।

अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलौरीका इन्चार्ज खेमराज भट्टको उपस्थितिमा सञ्चालित उक्त कार्यक्रममा चालकहरूलाई सडकमा गुड्दा अपनाउनुपर्ने सावधानी र कानुनी व्यवस्थाबारे विस्तृत जानकारी गराइएको थियो। सो अवसरमा ट्राफिक प्रहरीले चालकहरूलाई सडक सुरक्षा सम्बन्धी २७ बुँदे निर्देशिका समेटिएको सचेतनामूलक पर्चा समेत वितरण गरेको छ।

वितरित पर्चा र अभिमुखीकरणका क्रममा चालकहरूलाई तीव्र गतिमा सवारी नचलाउन, सवारी साधन चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, लागूपदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी साधन नलगाउन र सुरक्षित स्थानबाट मात्र ओभरटेक गर्ने बानी बसाल्न आग्रह गरिएको छ। त्यसैगरी, यात्रुको सुरक्षाका लागि तोकिएको क्षमता भन्दा बढी यात्रु नराख्न र सडक पेटी पैदलयात्रीका लागि भएकाले त्यसको सम्मान गर्न समेत सचेत गराइएको छ।

कार्यक्रममा पोष्ट इन्चार्ज भट्टले सडक दुर्घटना कम गर्न र सर्वसाधारणको जीवन सुरक्षित बनाउन चालकहरू स्वयं बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना अपरिहार्य रहेको उल्लेख गर्दै प्रहरीको यस अभियानमा सहयोग गर्न सबैलाई अपिल गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ